Friday, August 5, 2011

मेरो औपचारिक पढाइ एसएलसी मात्रै हो

महँगो बोर्डिङमा पढ्दैमा राम्रो शिक्षा आर्जन गर्न सकिन्न । सरकारी स्कुल पढेर पनि मान्छेले राम्रै प्रगति गरेका छन् । सिकाइ आफूमा भरपर्छ । सिक्नेले कत्तिको टिप्न सक्छ, आफू कुन विषयमा योग्य र दक्ष छु, कुन क्षेत्रमा लाग्दा राम्रो गर्न सक्छु भन्ने कुराको निक्र्याेल गर्ने निणर्ायक आफैँ हो । आफूमा भएको प्रतिभा प्रस्फुटन गर्न हिच्किचाउनुहँुदैन । 
मेरो औपचारिक पढाइ एसएलसी मात्रै हो । तर, मैले गायन क्षेत्रमा जुन सफलता चुमे यसमा निकै गर्व गर्छु । म तेह्रथुमको विकट गाउँमा जन्मिए । निकैपछि हामी फर्पिङ सर्‍यौँ । दाइदिदीले उतै पढे । मैलेचाहिँ एक कक्षादेखि काठमाडौंको नन्दीरात्रि मावि पढेँ । म स्कुलमा राम्रै विद्यार्थी थिएँ । पढाइका साथै नाच्न, गाउन अनि खेलकुदमा म अग्रपंक्तिमा थिएँ । गीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थेँ । स्कुलमा सबैको प्यारी थिएँ । तर, मेरो साथीहरू निकै कम थिए । माइली दिदी मञ्जु नै मेरो सबैभन्दा मिल्ने साथी थिइन् । हामी दिदीबहिनीको मित्रता देखेर मान्छेहरू डाह गर्थे । स्कुलमा मेरी एउटी निकै मिल्ने साथी, सरस्वती हुनुुहुन्थ्यो, पछि हामीले मित लगायौँ । उहाँबाहेक अरू निकट मित्र थिइनन् । स्कुलमा पढाइका अलावा गाउनमा मेरो धेरै ध्यान जान्थ्यो । मैले गाएको सुनेर सबैजना मन्त्रमुग्ध हुन्थे । 
मलाई मेरा दिदी र दाइहरूले पढाइमा निकै सहयोग गर्नुहुन्थ्यो । गीत गाउनमा भने मलाई मेरी फुपू जानकी केसीले निकै सहयोग गर्नुभयो । उहाँले मेरो गायन रुचिको बारेमा स्वर्गीय कृष्णमान डंगोल गुरुसँग कुरा गरिदिनुभयो । उहाँले नै मलाई कृष्णमान गुरुकोमा लगिदिनुभयो । मैले सानैदेखि कृष्णमान गुरुसँग संगीत सिकेँ । त्यतिवेला कृष्णमान गुरु बिहान चार बजे उठेर मर्निङवाक गएर पाँच बजे मलाई उठाउन आउनुहुन्थ्यो । त्यसपछि उहाँले मलाई गायन, संगीत सिकाउनुहुन्थ्यो । हरेक दिन रियाज गराउनुहुन्थ्यो । बिहान मलाई सिकाउनुहुन्थ्यो । दिउँसो मैले इन्स्िटच्युटमा त्यही कुरा विद्यार्थीलाई सिकाउँथेँ । जसकारण मेरो गायन कला खारिँदै गयो । मलाई चन्दन श्रेष्ठ गुरुले आफँै बोलाएर शास्त्रीय गायन सिकाउनुभयो । मैले संगीतमा पनि कुनै औपचारिक डिग्री हासिल गरेकी छैन । सानैदेखि प्राक्टिस गर्दै गएँ, बुझ्दै गएँ । म थ्यौरीभन्दा प्राक्टिकलमा विश्वास गर्छु । जति धेरै अभ्यास गर्‍यो, उत्ति नै राम्रो हँुदै जान्छ । 
मैले झन्डै १७ वर्षअघि एसएलसी गरेकी हुँ । एसएलसीपछि भने मैले पढ्न सकिनँ । त्यतिवेला मलाई स्वास्थ्यले पनि साथ दिएन । म बिरामी भइरहन्थेँ । बुबाको देहान्त भइसकेकाले पनि पढ्ने माहोल बिथोलियो । धेरै पढ्न नसकेकोमा मलाई पछूतो भने छैन । औपचारिक शिक्षा धेरै नभए पनि भगवान्ले मलाई गाउने कला दिए । म यसमै खुसी छु । 
म संगीत क्षेत्रमा आएको डेढ दशक बित्यो । तर, मैले सफलता हात पार्न थालेको चार वर्ष त भयो नि ! सफलता त्यसै हात लाग्दैन । त्यसका लागि अनवरत साधना गर्नुपर्छ । शिक्षा हासिल गर्न पनि धेरै मिहिनेत, दुःख र साधना गर्नुपर्छ । कसैको करकापमा विषय रोज्नु हुन्न । आफूलाई जुन विषयमा रुचि छ, त्यही पढ्नुपर्छ । बाबुआमाले पनि आफ्ना सन्तानलाई तिमीले यही विषय पढ्नुपर्छ भनेर कर गर्नुहुन्न । सन्तानको इच्छा, रुचि र क्षमता बुझ्नुपर्छ । उनीहरूलाई स्वतन्त्र रूपमा पढ्न दिनुपर्छ । 
म स्कुलमा मात्र होइन, जिन्दगीका अहिलेसम्मका कुनै पनि परीक्षामा फेल भएकी छैन । म जुन काम गर्नु, निकै मिहिनेतका साथ गर्छु । पहिला म बिहान चार बजे उठेर रियाज गर्थें । अहिले पनि त्यो बानी छुटेको छैन । मेरो लगनशीलता, मिहिनेत र अथाह आस्था देखेर सरस्वतीमाता खुसी हुनुभएको छ, सायद । त्यसकारण मैले आफ्नो लक्ष्य भेटाएकी छु । 
मैले एक वर्षदेखि सीतापाइलामा वान लभ वान वल्र्ड नामक अनाथालय सुरु गरेकी छु । २५ जना बालबालिका छन् । आफूले धेरै पढ्न नसकेपछि उनीहरूको सुन्दर भविष्यका लागि अनवरत लागिरहेकी छु । शिक्षा भनेको ज्ञान हो । आफूमा भएको ज्ञान र विवेक प्रयोग गरेर समाजमा उदाहरणीय काम गर्नुपर्छ । त्यसकारण म समाजसेवामा पनि समर्पित भएकी हुँ । शिक्षा हासिल गर्नलाई उमेर बाधक बन्दैन । ६० वर्षका वृद्ध पनि स्कुल पढ्दै गरेको पाइन्छ । त्यसकारण मैले पनि पढाइ फेरि अघि बढाउने सोचाइ बनाएकी छु ।

No comments:

Post a Comment