Friday, August 12, 2011
टिनएजमा मेकअप
समय र ठाउँअनुसार विभिन्न उमेरका महिलामा गरिने मेकअप फरक-फरक हुन्छ । टिनएजरले गर्ने मेकअप र ४० वर्ष उमेर काटेका महिलाको मेकअप पनि फरक हुनुपर्छ । टिनएजमा मेकअप गर्ने कुरा बुझिएन भने कहिलेकाहीँ लाजमर्दो पनि हुनसक्छ । त्यसैले टिनएजरले मेकअप गर्दा केही कुरामा ध्यान पुर्याउनुपर्छ ।
टिनएज भनेकै कसरी आफू अरूभन्दा राम्री देखिन सक्छु भनी होडबाजी गर्ने समय हो । त्यसैले यो उमेर समूहका युवतीहरूले मेकअपमा विशेष ध्यान दिन्छन् । उनीहरू समय र ठाउँ हेरी सजिन मन पराउँछन् । उनीहरू हिँजोआज आफू कहाँ, के गर्न जाँदैछु भन्ने कुरालाई बुझेर मेकअप गर्न खप्पिस हुन थालेका छन् । उनीहरूले आफूलाई सुहाउँदो रूपमा ढालेको देख्न पाइन्छ । सञ्चारमाध्यमको बढ्दो प्रयोग र समयअनुसार चल्ने चेतनाका कारण उनीहरू आफूलाई कस्तो खालको मेकअप गर्दा सुन्दर देखिन्छ भन्ने कुरामा सचेत हुन थालेका छन् । यो उमेर समूहको यही चेतनाका कारण बजारमा विभिन्न कम्पनीले टिनएज कस्मेटिक पनि उपलब्ध गराएका छन् ।
टिनएजमा छाला कोमल तथा परिपक्व हुने क्रममा हुन्छ । यस्तो बेला मेकअप गर्दा विशेष सावधानी अपनाउनुपर्छ । मेकअप गर्ने भन्दैमा आफ्नो अनुहारको सरलता छोप्ने प्रयास गर्नुहुँदैन । प्रत्येक युवतीले आफ्नो मेकअपमा आफ्नो परिचय स्थापित गर्ने प्रयास गर्नुपर्छ । यही नै टिनएजको श्रृंगार कला हो ।
राम्रो, मिलेको र सबैलाई आकषिर्त गर्ने मेकअप आफैमा एउटा कला हो । मेकअप प्रयोग गर्दा पहिले अनुहारमा टोनर लगाउनुपर्छ । धेरैलाई टोनर भन्नेबित्तिकै मुख पुछ्ने सामग्री भन्ने अर्थ लाग्छ । फेसवासले अनुहार धुँदा छाला फुस्रो हुन्छ । यतिबेला टोनर लगाउनुपर्छ । त्यसपछि लोसन अथवा क्रिम लगाउनु उपयुक्त हुन्छ । त्यसपछि आफ्नो इच्छाअनुसार आँखा तथा अरू भागको मेकअप गर्न सकिन्छ । आँखाको आकारअनुरूप मेकअप गर्नुपर्छ । मंगोलियन अनुहारका लागि गाढा इन्टेनस आँखा बनाउन सकिन्छ । यसका लागि कालो, गाढा कफी ब्राउन कलरको स्याडो प्रयोग गर्न सकिने ब्युटिसियन स्यान्द्रा पुन बताउँछिन् । यसले सानो आँखालाई ठूलो देखाउन मद्दत गर्छ । त्यसैगरी आर्यन अनुहारमा क्यान्डी कलरको आँखा बनाउन सकिन्छ । यसमा लाइट परपल, लाइट गि्रन तथा गोल्डेन ब्राउन आदि कलरको स्याडो प्रयोग गर्न सकिन्छ । पुनका अनुसार आँखा मनको भाव झल्काउने झ्याल हो । मेकअपले व्यक्तिको आत्मा देखाउन सक्नुपर्छ ।
हिजोआज टिनएजको मेकअप यतिमा मात्र सीमित छैन । उनीहरूले आफ्नो आँखालाई फ्रेम दिन आइलाइनरको प्रयोग गर्न थालेका छन् । यसले आँखाको सुन्दरता बढाउन मद्दत गर्छ । यतिले मात्र आँखाको मेकअप पूरा हुँदैन । परेलामा मस्कारा तथा आइकल गर्नु पनि आँखाको मेकअपभित्र पर्छ । पातलो परेला भएकाले फ्लस आइलासेस् प्रयोग गरेका हुन्छन् । यसका लागि बजारमा ८ देखि १५ एमएमका फ्लस आइलासेस् उपलब्ध छन् । आफ्नो अनुहारको आकारअनुसार आर्यन फेस भएकाले ८ देखि १० एमएम प्रयोग गर्न सक्छन् भने मंगोलियन फेस भएकाले ९ देखि १२ एमएम प्रयोग गर्न सक्छन् । यी विभिन्न कलरमा उपलब्ध छन् । तर आइलासेस् रोज्दा हल्का रंगको रोज्नु राम्रो हुन्छ ।
त्यसैगरी अनुहारमा राम्रो, मिलेको आइब्रोले पनि सुन्दरता थप्ने काम गर्छ । यसका लागि टिनएजका युवतीले थ्रेडिङका साथै राम्रो र अनुहार सुहाउँदो सेप दिन्छन् । पातलो आइब्रो भएकाले पनि आइलाइनरको सहायताले त्यसलाई राम्रो वा स्थायी आइब्रो बनाउने गरेका छन् ।
मेकअपमा ओठको ठूलो महत्व छ । फाटेको एवं फुस्रो ओठ राम्रो हुँदैन । यसका लागि लिप बाम तथा लिप ग्लस प्रयोग गर्न सकिन्छ । कतिपयले आफ्नो ओठको कलर याद नगरी विभिन्न कलरले लाइन कोर्ने गरेको देखिन्छ । यसले अनुहारको सुन्दरता हराउँछ । आफ्नो फेसअनुरूप लाइट कलरको लाइन कोर्नुपर्छ ।
इन्जिनियरिङ अध्ययनरत आकृति गौतम भन्छिन्, 'मेकअप नारीहरूको अधिकार हो । त्यसैले नारीलाई प्रकृतिसँग दाँजिन्छ । कारण प्रकृति आफैमा श्रृंगारले भरिएकी छिन् ।' गौतमको विचारमा मेकअपबिना हरेक महिला अधूरा हुन्छन् । मेकअपले आत्मविश्वास बढाउँछ ।
अहिलेको अवस्थामा मेकअप महिलाका लागि आवश्यक सामग्री भएको छ । यसले महिलाको सुन्दरतामा निखार थपेको छ । यद्यपि मेकअप भद्दा खालको हुनुहुँदैन । आफूले कस्तो मेकअप गर्ने भन्ने कुरा अनुहारको आकारमा पनि भरपर्छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment