अर्काको मन त्यसै जितिन्छ ? त्यत्तिकै मन पग्लिन्छ ? त्यत्तिकै लसक्क त को पो टाँस्सिन आउँछ ? कसले सजिलै मन् दिन्छ ? शरिर सुम्पिन्छ ? खोला नाला, कुला र घोल अनि दुल्कामा ट्वार ट्वार गर्ने केहि भ्यागुतालाईपनि हम्मे हम्मे पर्ने रहेछ पोथी फकाउन । पोथीको मन जितेर आफ्नी बनाउन, आफूतिर लसक्क टाँस्सिने बनाउन केहि भ्यागुताले डिस्को गीत जस्तै गाउने रहेछन् ।
बैज्ञानिकहरुले पनामाको गाम्बोआमा पाइने टुङ्गारा भनिने भ्यागुताका भालेले त्यसैगरि डिस्को गीत जस्तै गाएर पोथीलाई आकर्षित गर्छन् भन्ने पत्ता लगाएका छन् । ति भाले भ्यागुताले सन् १९७० ताका निकै प्रचलनमा रहेको डिस्को गीत जस्तै गाउँछन् । त्यो गीत ब्ल्याकबिट भनिने डिस्कोसँग मिल्ने रहेछ । भालेहरुले घोक्रो फुलाइ फुलाइ त्यो गीत सुनाएर पोथीलाई फकाउने कोसिस गर्छन् । भालेका गीत पोथीले असाध्यै रुचाउँने हुँदा ध्यान दिएर सुन्ने गर्छन् ।
पोथीका लागि भालेहरुले गीतपनि यस्तरि गाउने रहेछन् कि पोथीहरुनै वाक्क पर्ने गर्छन् । सुन्दा सुन्दा दिक्कै लागेर पोथीहरुले भालेलाई डिस्को गीत गाउन रोक्न लगाउने रहेछन् । जर्नल साइन्सले यस पटकको अंकमा भ्यागुताको डिस्को गीतको चर्चा गरेको छ । भालेहरुले पोथीलाई सुनाउन गाउने गीत जति महत्वपूर्ण हुन्छ त्यत्तिकै पोथीहरुलेपनि वरिपरिको वातावरणबारे ध्यान दिनु आवश्यक मानिन्छ । किनभने कहिलकाहिँ चमेराहरुले त्यसरि गीत गाउने भ्यागुतालाई ध्यान दिन्छन्, तिनका गीत सुन्छन् र आहारा बनाउन ढुकेर बस्छन् ।
भालेहरुले त्यस्ता गीतपनि बिभिन्न भाका, टुक्रा, लय र कुनै लामो त कुनै छोटो, कुनै सुस्त र कुनै तिब्र पाराको गाउने रहेछन् । पोथीहरुले हरेक दुई दुई खण्ड अर्थात् एकै लयमा दुई पटक गाउने (दोहोर्याएर गाउने) लय बढि रुचाउने रहेछन् । भालेहरुको कण्ठको सिप अनुसार पोथीहरुले भाले छान्छन् । मिठो लय हुने भाले भाग्यमानी हुन्छन् । किनकि पोथीहरु त्यस्तै भाले देखेर हुरुक्क हुन्छन् । कोहि बेला भालेहरुले यति लामोसित गाइदिन्छन् कि पोथीहरुलाई छान्नै हम्मे हम्मे पर्छ । त्यसले गर्दा कुन भाले छान्ने पोथीहरु अलमलमा पर्छन् ।

No comments:
Post a Comment