Tuesday, August 16, 2011

पहिलो समलिंगी बिहे

लिंग परिवर्तन गरेर क्युवामा नै पहिलो समलिंगी बिहे गर्न लागेको जोडीले आफ्नो बिहे फिडेल क्यास्ट्रोलाई जन्मदिनको उपहार दिने भएका छन्
क्युवामा लिंग परिवर्तन गरेर महिला बनेका पुरुष र अर्का एक पुरुषले बिहे गर्न लागेका छन् । वेन्डी इरिएपा कानुनी रूपमा पुरुष हुन् ।  २००७ मा अपरेसन गरेर वेन्डीले लिंग परिवर्तन गरेका थिए । क्युवामा लिंग परिवर्तनलाई कानुनी मान्यता छ । वेन्डीको हुनेवाला जीवनसाथी इग्नेसिया इस्टार्डा क्युवामा समलिंगी बिहेको नाम चलेका समर्थक मानिन्छन् । इग्नेसिया एचआइभी पोजिटिभ पनि हुन् ।
आफ्नो बिहे नेता फिडेल क्यास्ट्रोका लागि उपहार भएको पनि यो जोडीले बताएको छ । उनीहरूको बिहेको दिन क्यास्ट्रोको जन्मदिन पर्छ । क्युवामा समलिंगी महिला-पुरुष तथा ट्रान्सजेन्डर व्यक्तिविरुद्ध भेदभाव हुने गरेको छ ।
क्रान्तिको सुरुवाती दिनमा कैयौँ समलिंगी पुरुष-महिला तथा ट्रान्सजेन्डर व्यक्तिलाई श्रम शिविरमा पठाइने गरिन्थ्यो । तर, राहुल क्यास्ट्रो सत्तामा आएपछि भने समलिंगी अधिकारमा केही सुधार गरिएको थियो । राहुल क्यास्ट्रोले सत्ता सम्हालेपछि नै लिंग परिवर्तनलाई कानुनी मान्यता दिइएको थियो ।
वेन्डीले लिंग परिवर्तन गराएको अस्पतालकी प्रमुख राहुल क्यास्ट्रोकी छोरी मेरियला छिन् । वेन्डी भन्छन्- मलाई अत्यन्त खुसी लागिरहेको छ । हाम्रो बिहे क्युवाको पहिलो समलिंगी बिहे बनेको छ । यसलाई कुनै राजनीतिक रूपमा हेरिनुहुँदैन । हाम्रो बिहे फिडेल क्यास्ट्रोको जन्मदिनमा उपहार हुनेछ । तर, हाम्रो बिहेमा सरकारी मान्यता छ वा छैन भन्नेबारेमा मलाई केही मतलब छैन ।
इग्नेसियो इस्टाडाले  जानेदेखि आफू सधैं समलिंगी पुरुष मान्ने गरेको बताउँछन् । तर, वेन्डीसँग  सम्बन्ध  बिल्कुल फरक भएको उनी बताउँछन् । उनी भन्छन्- आज म के बनेको छु भन्नेबारेमा मलाई केही थाहा छैन तर, म एक महिलासँग औधी प्रेम गर्छु ।
आफ्नो बिहे कसैलाई चिढ्याउन नभएर वेन्डीसँग सम्बन्ध गाँस्न भएको उनले बताए । फिडेल क्यास्ट्रोको ८५औँ जन्मदिनको उपलक्ष्यमा क्युवामा उत्सव मनाइँदै छ । तर, उत्सवमा क्यास्ट्रोमा सहभागी हुने विषयमा केही बताइएको छैन । २००६ मा बिरामी भएपछि फिडेलले भाइ राहुललाई सत्ता सुम्पेका थिए ।  

No comments:

Post a Comment