
१३ देखि १९ वर्षको उमेरमा हार्मोनमा आउने परिवर्तनका कारण केटा वा केटीमा विपरीत लिङ्गीप्रति आकर्षण बढ्न थाल्छ। यस्तो सम्बन्धलाई आमाबुवाले मन नपराउने हुनाले किशोर-किशोरीहरू त्यसलाई लुकाउने प्रयासमा हुन्छन्। यस्तो अवस्थामा अभिभावकले उनीहरूलाई उपयुक्त दिशा देखाउनुपर्छ र कुनै प्रकारको दबाब दिनु हुँदैन। अनावश्यक दबाब सिर्जना गरेका कारण कतिपय आमाबुवाले आफ्नै सन्तान गुमाउनुपरेका उदाहरण समाजमा थुप्रै छन्। यस्तै दुव्र्यसनीमा पर्ने, आत्महत्या गर्ने र बरालिएका थुप्रै घटना पनि देखिएका छन्। तसर्थ किशोर-किशोरीलाई कुनै पनि कुरा जबर्जस्ती गराउन खोज्नु मूर्खता सिवाय केही हुन सक्दैन। सम्झाउँदा हुने कुरालाई अनावश्यक दबाब दिएर बिगार्नु हुँदैन। बरु साथीजस्तै व्यवहार गरेर उनीहरूको मन जित्न सक्नुपर्छ। मन जितेर गरिने उदार व्यवहारमा धोका हुँदैन।
स्वतन्त्रता आवश्यक
किशोरावस्थाका केटाकेटीलाई स्वतन्त्र वातावरणमा हुर्कने अवसर प्रदान गर्नु अभिभावकहरूको दायित्व हो। स्वतन्त्रता हरेक कुरामा आवश्यक हुन्छ। कुनै विचार व्यक्त गर्न वा कसैसँग सम्बन्ध गाँस्ने प्रश्नमा उनीहरूलाई स्वतन्त्र छोड्नुपर्छ। यद्यपि साथीको भूमिकामा रहेर सल्लाह भने दिन सकिन्छ। मनोवैज्ञानिकहरू विपरीत लिङ्गीसँगको सम्बन्धलाई प्राकृतिक मान्छन्। मनोवैज्ञानीक गंगा पाठक भन्छिन्-यसलाई गलत मान्नु एउटा रोग हो। यसमा केही गलत छैन। कसैप्रति आकषिर्त भैसकेपछि उनीहरूको ध्यान पढाइ-लेखाइवाट टाढिन्छ। अभिभावकहरू सोच्छन् यसले गर्दा करिअर छनोट र भावी जीवनमा असर पुग्छ तसर्थ अभिभावकहरू किशोर-किशोरीलाई गाली गरेर वा तर्साएर तह लगाउन खोज्छन् जसबाट उल्टो परिणाम निस्कन सक्छ। यसकारण अभिभाभवकले आफ्ना छोराछोरीलाई केवल आपसी सम्बन्ध कसरी निर्वाह गरियो भने हित हुन्छ बताउनुपर्छ।संवादको आवश्यकता
अभिभावक एवं छोराछोरीबीच पुस्तान्तर -जेनेरेसन ग्याप) महसुस हुने खालको सम्बन्ध हुनु हुँदैन। यसमा अभिभावकहरूले नै अहंभूमिका खेल्नुपर्छ। छोराछोरीकै चाहनाअनुरूप संवाद गरेर तथा सल्लाह दिएर मायालु वातावरण सिर्जना गर्न सक्नुपर्छ। यसबाट आत्मीय सम्बन्ध कायम हुन्छ। बेलामौकामा छोराछोरीसँग कुराकानी गर्नुपर्छ। उनीहरूले केही कुरा सोधे पन्छिनु हुँदैन। साथीसँग बस्दा जस्तो सहज वातावरण सिर्जना गरेर उनीहरूसित भिज्नुपर्छ। यसो गरियो भने टिनएजरलाई अभिभावकको कुरा बुझ्न सजिलो हुन्छ। साथीहरूसँग टेलिफोनमा घन्टौं कुरा गर्दा, च्याटिङ गर्दा, रातभरि कम्प्युटर चलाउँदा पढाइ एवं अन्य कुरामा असर पर्ने यथार्थ छोराछोरीलाई साधारण तरिकाले बताउनुपर्छ। त्यसपछि उनीहरू आफै ती कुराबाट टाढा हुन्छन्।
यौन शिक्षा
बढ्दो उमेरमा हार्मोनको परिवर्तनका कारण यौन शिक्षाको आवश्यकता बढेको छ। टिनएजर्समा एक्स्पोजर्ट बढ्दै गएको छ। त्यसैले यौन सम्बन्धमा कुराकानी गर्नु उनीहरूको हितमा हुन्छ। धेरैजसो अभिभावक आज पनि आफ्ना छोराछोरीसँग यौनसम्बन्धी कुराकानी गर्न हिच्किचाउँछन्। मनोवैज्ञानिकहरूका अनुसार टिनएजर्सलाई घरमा सेक्सुअल रिलेसन सीपमा प्रोटेक्सन प्रयोग गर्ने कुरा सिकाइयो भने अहिले भैरहेको प्रेगनेन्सीसम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ।
के भन्छन् आमाहरू ?
अमेरिकामा बसोबास गर्दै आएकी सिनियर नर्स मिनु दुवाल शाक्यकी छोरी मोनिका शाक्य किशोरावस्थामा छिन्। मिनु यो उमेरमा हुने आकर्षणलाई स्वाभाविक मान्छिन्। उनी भन्छिन्, मोनिका यदि विपरीत लिङ्गीप्रति आकषिर्त हुन्छे भने त्यसमा मेरो कुुनै रोकावट हुँदैन। मेरो भूमिका उनलाई बरालिनबाट रोक्नु मात्र हो। म आमाभन्दा बढी उनकी साथी हुँ। त्यसैले मोनिका मसँग उनका हरेक कुरा गर्छिन्। साथै के गर्ने, के नगर्ने भनेर सल्लाह लिन्छिन्। म सबै आमालाई भन्न चाहन्छु कि आफ्ना किशोरावस्थाका छोराछोरीलाई प्रेमपूर्वक असल बाटोमा लाग्न प्रेरणा दिनुपर्छ।
मिनु दुवाल शाक्य
नर्स, अमेरिका
म छोराछोरीमाथि आफ्ना कुनै कुरा लाद्न खोज्दिन। हरेक टिनएजर्समा विपरीत लिङ्गीप्रति आकर्षण हुन्छ। म आफ्नी छोरी वृषालाई कहिल्यै उनका केटा साथीहरूको फोन आउँदा, इन्टरनेटमा बस्दा केही पनि भन्दिन। केटाकेटीहरूलाई जति बन्धनमा कस्न खोज्यो उनीहरू त्यति नै छाडा हुन पुग्छन्। त्यसैले गाली गर्नुको साटो सम्झाउनु राम्रो हुन्छ। मैले कतिपयका छोराछोरी टिनएजमा घरबाट रोकटोक हुँदा धेरै समस्या आएका उदाहरण देखेकी छु। म र छोरीबीच हरेक कुरा आदानप्रदान हुन्छ। हामी आमाछोरीभन्दा बढी साथीजस्ता छौं। मैले के लगाउने, उनले के लगाउने भन्ने कुरामा हामी छलफल गर्छौं। उनका धेरैजसो साथी म चिन्छु। मैले कहिल्यै छोरीलाई गाली गरेर कुनै काममा रोक लगाएकी छैन।
शोभा पोटे
शिक्षिका
किशोरावस्थाका केटाकेटीलाई जति बन्धनमा राख्न खोज्यो त्यति नै बरालिने सम्भावना हुन्छ। म आफू पनि स्वतन्त्र रूपमा हुर्किएकी हुनाले छोरीलाई स्वतन्त्र वातावरण दिएँ। उनका इच्छा-आकांक्षा पूरा गर्न म हरदम तत्पर हुन्छु। मेरा कतिपय साथीले आफ्ना छोरीलाई नियन्त्रणमा राख्थे केटा साथीहरूको फोन आउँदा पनि गाली गर्थे। त्यसैले मेरी एउटी साथीकी १६ वषर्ीया छोरी विष खाएर मरिन्। त्यसैले म कहिल्यै गाली गरेर जबर्जस्ती कुनै काम गराउने पक्षमा छैन। मेरी छोरी अहिले भारतमा पढ्दैछिन्। हरेक उमेरका व्यक्तिलाई स्वतन्त्रता दिनुपर्छ। स्वतन्त्रता नपाए मान्छे बहुलाउँछ। टिनएजर्सलाई त अझ बढी माया एवं स्वतन्त्रता दिनुपर्छ। म आफ्नी छोरीलाई बेस्ट प|ेन्ड मान्छु। उनी कतिपय गोप्य कुरासमेत मलाई बताउँछिन्। म पनि अरूसँग सेयर नगरेका कुरा छोरीलाई बताउँछु।
स्नेहा राणा
मेकअप आर्टिस्ट
फरक पुस्ताबीच कसरी तालमेल मिलाउने ?
टिनएजर्स भएका घरमा केही गुनासा सुनिन्छन्। छोराछोरी आमाबुवाले आफ्नो भावना नबुझेको आरोप लगाउँछन् भने आमाबुवा छोराछोरीले आफ्नो चाहनाअनुरूप काम नगरेकोमा दुःखी हुन्छन्। यसले घरपरिवारमा कलह निम्त्याएको पाइन्छ। यसो हुनुको कारण भिन्न पुस्ताबीचको सोचमा हुने अन्तर हो। यस्तो अन्तरमा सही तालमेल मिलाउन नसक्ने घरमा कलह मच्चिन्छ।
टिनएजर्स
किशोर-किशोरीहरू घरिपरिवारले आफूमाथि हरेक कुरामा बन्देज लगाएको अनुभव गर्छन्। त्यसैले उनीहरू आमाबुवासँग रिसाउँछन्। उनीहरू आमाबुवाले यसो गर्नुको कारण बुझ्दैनन्। शान्त मनले आमाबुवाको भनाइमा लुकेको रहस्य खोतल्ने प्रयास गर्नुपर्छ। आमाबुवाले अबेरसम्म पार्टीमा बस्न नदिनुको कारण आफ्नै सुरक्षा हो भन्ने कुरा टिनएजर्सले बुझ्नुपर्छ। त्यसैले पार्टीम्ाा जानुअघि साथीहरूसँग गएको र आफू सुरक्षित भएको अनुभूति आमाबुवालाई दिनुपर्छ। यस्तो स्थितिमा आफ्ना साथीहरूको नम्बर पनि दिन सकिन्छ। यसो गर्दा आमाबुवा ढुक्क हुन सक्छन्।
अभिभावकले साथीहरूका बारेमा जान्ने इच्छा राखे उनीहरूका बारेमा प्रस्ट कुरा बताउनुपर्छ। ढाँट्नु बेइमानी हो। हरेक अभिभावकले आफ्ना छोराछोरीलाई बुझ्न उनीहरूका साथीहरूको जानकारी राख्नु आवश्यक हुन्छ।
असल व्यवहार देखाएर अभिभावकको विश्वास जित्ने प्रयास गर्नुपर्छ। झूटो बोलेर ढाकछोप गर्नुहुँदैन।
आमाबुवा
परिवारमा टिनएजर्सका आमाबुवामाथि ठूलो दायित्व हुन्छ। उनीहरूले छोराछोरी तथा वृद्ध आमाबुवाको कुरा पनि सुन्नुपर्ने हुन्छ।
आमाबुवाले परिवर्तित समयलाई चिन्नुपर्छ। उनीहरूले आफूलाई समयअनुरूप बदल्नुपर्छ।
अभिभावकले कहिल्यै दोहोरो चरित्र देखाउनुहुँदैन। छोराछोरीहरू जुन वातावरणमा रमाएका छन् त्यसैमा उनीहरूको विकास हुन दिनुपर्छ। छोराछोरीको काममा अनावश्यक हस्तक्षेप गर्नुहुँदैन। आवश्यकताअनुसार सुझाव दिनुपर्छ।
छोराछोरीमाथि आफ्नो निर्णय थोपर्नु पहिले ध्यानपूर्वक उनीहरूका कुरा सुन्नुपर्छ। छोराछोरीका कुरामाथि तार्किक ढंगले विचार गर्नुपर्छ। उनीहरूको कुरा सही लागे मान्नु पनि पर्छ।
सामाजिक एवं नैतिक मूल्यका विषयमा स्पष्ट सीमा रेखा बनाइदिनुपर्छ।
साथी बनेर उनीहरूको समस्या समाधानको प्रयास गर्नुपर्छ।
बालबालिका तथा वृद्ध आमाबुवाबीच पुलको काम गर्नुपर्छ।
वृद्ध मानिसलाई बदल्न गाह्रो हुन्छ। त्यसैले आफ्ना सन्तानलाई हजुरबुवा तथा हजुरआमालाई दुःख दिने काम गर्नुहुँदैन भनेर सम्झाउनुपर्छ।
हजुरबुवा-हजुरआमा
उमेर गयो, अब म आफूलाई बदल्न सक्दिन भन्ने सोच्नुहुँदैन। समयका साथ चल्ने प्रयास गर्नुपर्छ। नयाँ कुरा सिक्ने प्रयास गर्नुपर्छ।
आफ्ना नाति-नातिनाहरूसँग साथीसरह व्यवहार गर्नुपर्छ।
हजुरबुवा तथा हजुरआमा बनेपछि आफ्ना छोराछोरी उमेरको मध्यखण्डमा छन् भन्ने कुरा बिर्सनुहुँदैन। त्यसैले साना छोराछोरीका अगाडि उनीहरूलाई गाली गर्नुहुँदैन।
आफ्ना नाति-नातिनाहरूसँग सीधै सम्पर्क राख्नुपर्छ। यदि उनीहरूको कुनै बानी मन पर्दैन भने छोरा-बुहारीलाई भन्नुभन्दा उनीहरूलाई नै भन्नुपर्छ।
No comments:
Post a Comment