Friday, September 30, 2011

हामी पढेलेखेका र जानेबुझेका भनाउँदा त .........................

उनी दिनभरिको कामले थाकेकी थिइन् । भोकले गलेकी थिइन् । साँझ उनले हातै नधोई चनाको तरकारी र सेल खाइन् । त्यसको एकैछिनमा उनको पेट कटक्क खायो, शौचले च्याप्यो । उनी दौडँदै शौचालय पुगिन् ।

दुई दिनसम्म पखाला रोकिएन । तब धादिङ सिम्लेकी २५ वषर्ीया भवानी थापालाई उनका आफन्तले शुक्रराज ट्रपिकल अस्पताल टेकु नलगी सुख पाएनन् ।

'अहिले अलिक रोकिएको छ,' भदौका अन्तिम दुई दिन अस्पतालको शय्यामा स्लाइन पानी लिएर बसेकी उनले भनिन् । उनको शरीरमा पानीको मात्रा निकै कम भइसकेको थियो । स्लाइनमार्फत गएको सोडियम पोटासियमले अहिले त्यसको पूर्ति गरिरहेको छ ।

उनलाई लाग्छ, अमिलो, पिरो केही पनि खाएकी थिइनन् । तर पनि कसरी लाग्यो पखाला ? यसको जवाफ उनले खाएको चना र सेलको शुद्धता, त्यो समात्ने हातको स्वच्छता र उनको रोग प्रतिरोधात्मक शक्तिको कुरो नकेलाई पाउन सकिन्न । असार-साउनमा टेकु अस्पताल उनीजस्ता थुप्रै बिरामीले भरिन्थ्यो । 'अहिले अलिक होलो भएको छ,' अस्पतालका प्यारामेडिक्स रवीन्द्र अर्यालले भने, 'गर्मी हुने र पानी पर्ने बेलामा मानिसहरू ज्यादा बिरामी हुने रहेछन् ।'

अस्पतालको स्वास्थ्यकर्मीको अनुभवमा झाडापखालाका धेरै बिरामीमा रोगको कारण खोतल्दै जाँदा खानपानमा गडबढी भएको देखिन्छ । 'अण्डा, मासु र बासी खाने कुरा खाएर बिरामी भएकाहरू धेरै भेटिन्छन्,' जनरल फिजिसियन डाक्टर रवीन्द्र अर्यालको अनुभव यस्तो छ, 'होटल, रेस्टुरेन्टमा खाएर पखाला र टाइफाइडको सिकार भएकाहरू पनि धेरै नै छन् ।'

जन्डिस, झाडाबान्ता, टाइफाइड र आउँलाई स्वास्थ्य मन्त्रालयले दूषित पानी र फोहोर खानाका कारण सर्वाधिक फैलिने सरुवा रोगको सूचीमा राखेको छ । यी रोग नियन्त्रण र उपचार गर्न सरकारले बर्सेनि डेढ अर्बको हाराहारीमा पैसा खर्चिने गरेका स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । यति हुँदाहुँदै पनि लाखौं मानिसलाई झाडापखाला, टाइफाइड र जन्डिसजस्ता सरुवा रोग लाग्छन् ।

'खानेकुरा सफा भएर मात्रै हुँदैन, औषधि खाएर पनि हुँदैन,' डा. शर्मा भन्छन्, 'जबसम्म हाम्रो आनीबानी ठीक हुन्न तबसम्म रोगले हामीलाई छाड्दैन ।'

सरसफाइमा हामी नेपालीको चासो दक्षिण एसियाली नागरिककै सरह लापरबाहीको स्तरमा भएको उनी ठान्छन् । खानुअघि साबुनपानीले हात धुनु स्वास्थ्य बानीको एउटा आधारभूत प्रमाण मानिन्छ । तर युनिसेफको एक तथ्यांकले भन्छ, हामी नेपाली १७ प्रतिशतले मात्रै त्यो काम गर्छाैंं ।

'मलाई त १७ प्रतिशतले पनि हात धोएरै खानेकुरा समात्लान् भन्नेमा पत्यार छैन,' शर्मा भन्छन्, 'हामी पढेलेखेका र जानेबुझेका भनाउँदा त त्यसो गर्दैनम्, आम मानिसमा त यसबारे न राम्रो जानकारी छ न गतिलो बानी नै ।'

शर्माले भनेजस्तै हामी पसलमा चिया खान्छौं तर गिलास कहाँ माझिन्छ हेर्दैनौं । मःम र चाउमिन रुचाउँछौं तर त्यो पकाउने ठाउँ र भाँडो कत्तिको सफा छ हेर्दैनौं । राजधानीका अधिकांश चिया पसल, रेस्टुराँ र भोजनालय नियाल्यो भने दिङदिङ लागेर आउँछ, खानै मन लाग्दैन । टेबुलमा बास्नादार फूलको गुच्छा राखे पनि, हेर्दा सफासुग्घर देखिए पनि रेस्टुरेन्टका किचन र वासबिन बान्ता आउने गरी फोहोर हुन्छन् ।

'यस्तै त हो नि' उनको होटलको सरसफाइको गुणस्तरबारे कुरो गर्दा बानेश्वरका एक भोजनालय सञ्चालक जंगिए, 'यहाँभन्दा सफा कहाँ गर्न सकिन्छ काठमाडौंमा ?'

निश्चय नै, उनको भोजनालयका टेबल र कुर्सीहरू सफा दिए । सिसाभित्र सजाइएर राखिएका मिठाई र खानेकुराले भरिएका भाँडा पनि कम्ता मन लोभ्याउने देखिँदैनन् । तर प्लेट, गिलास र चम्चाहरू माझ्ने ठाउँ नि ? साह्रै गन्हाउने, फोहोर र झिँगा भन्किरहेको । फेरि जूठा भाँडा पनि यत्रतत्र छरिबरी । भाँडा सफा गर्ने पानी झनै धमिलो । 'सफा पानी त खान पनि पुग्दैन,' ती पसलेले खुलस्त हुँदै भनिदिए, 'भाँडा माझ्न कहाँ गतिलो पाउनुु ?' यस्ता कुराले बिनासित्तैमा ग्राहक भडकने डरले साहूजीले आफ्नो होटलको सरसफाइबारे थप कुरा नउप्काउन आग्रह गरे र भने, 'बरु सरलाई मन लाग्दैन भने नखानुहोस् ।'

अरू त अरू मुलुक हाँक्नेहरूले खाने ठाउँ सिंहदरबारभित्र बस्ने मन्त्री र मन्त्रालयका कर्मचारीले खाने चमेना गृह पनि सफा छैनन् ।

'के गर्नु ? भीडभाड हुन्छ' भान्छा त कस्तो फोहोर भनेपछि गृह मन्त्रालयमा क्यान्टिन चलाएर बसेका एक अधबैंसेले भन्छन्, 'सफा गरेर भ्याए पो ।'

गृह मन्त्रालयको यो क्यान्टिनमा झिंगाहरू दत्तचित्तले खानेकुरा चाटिरहेका थिए । जाडो लागेपछि यी झिंगा आफैं गायब हुने गरेकाले साहूजीलाई यसको उस्तो परवाह छैन ।

सिंहदरबारमा त यस्तो छ भने रत्नपार्कमा मासु, चिउरा बेच्ने शान्ति प्रधानको पसल कसरी सफा होस् ? धूवाँ, धूलो, भीडभाड र ठेलमठेलाबीच ३८ वषर्ीया शान्ति १५ वर्षदेखि यहाँ ठूलो खसीको मासु स्टोभको आगोमा पकाएर बेच्दै आएकी छिन् । साँझपख यी सबभन्दा बढी व्यस्त हुन्छिन् । जति नै फोहोर भए पनि ग्राहकहरू लाम लागेर खान बसेका देखिन्छन् । तिनले खाएका जूठा भाँडा उनी धमिलो पानीले पखालिरहेकी हुन्छिन् ।

'यही पानी पनि टन्न पाए त हुन्थ्यो,' उनले भनिन्, 'जाबो जूठो भाँडा माझ्न सफा पानी किन चाहियो ?' फोहोर भयो भनेर आजसम्म कसैले गुनासो गरेको सम्झना उनलाई छैन । बाटामा बेच्न राखिएका खानेकुरा सफा भए पनि धूवाँ, धूलो र प्रदूषणका कारण खान योग्य हुँदैन भन्छन् डा. शर्मा ।

'यस्ता खानाले फाइदाभन्दा हानि नै बढी गर्छन्,' उनले भने, 'त्यसैले सकेसम्म नखानु नै बेस ।' तर यो कुरो खानेहरूलाई के वास्ता ? 'जहाँ गए पनि यस्तै त हो नि' रत्नपार्कमा मासु, चिउरा खाइरहेका एक युवाले भने, 'भोकले गालेका बेला कता सफा खोज्दै हिँड्नु ?

नेपाल ल कलेजको क्यान्टिनमा हालैको एक बिहान एलएलबीका एक हूल विद्यार्थी गफिँदै चिया पिइरहेका

थिए । कलेजमा आएका दिन कम्तीमा पनि तीन कप जति चिया उनीहरू पिउँदारहेछन् । 'कहिले पढाइ हुँदैन, कहिले पढ्न मन लाग्दैन,' झापादेखि कानुन पढ्न काठमाडौं आएकी बबिता मैनाली भन्दै थिइन्, 'यस्तोमा जाने ठाम यही क्यान्टिन र खानेकुरा यही चिया त हो नि ।'

सधंै खाइने चिया क्यान्टिनमा चियाको शुद्धता बबिता र उनका साथीहरूले हेर्ने गरेका छन् ? आफूले खाने चिया कस्तो पानीमा बन्छ भनेर भान्छातिर कहिल्यै हेरेका छन् ? समातिरहेको गिलास कहाँ माझिन्छ त्यो यिनलाई थाहा

छ ? चिया दिने हात कत्तिको सफा छ भन्नेतिर ध्यान जान्छ ? 'यस्तो कुरामा चासो दिएर के साध्य ?' बबिताले सजिलै गरी उत्तर दिइन्, 'सबै हेर्‍यो भने केही पनि खान मन लाग्दैन ।'

नेपाल कमर्स क्याम्पसमा पढ्दै गरेकी नम्रता तिवारी पनि बबिताले जस्तै आफूले खाने, पिउने ठाउँको सरसफाइबारे ध्यान दिने गर्दिरहिनछिन् ।

'भोक लागिरहेको हुन्छ,' भन्छिन्, 'यताउति ध्यानै हुँदैन । फेरि टेबुल, कुर्सी त सफा नै देखिन्छन् ।'

यी फोहोर क्यान्टिन र चमेना गृहहरू चल्नुमा सरसफाइमा चासो नराख्ने उपभोक्ताको बानी जिम्मेवार छ । न्युरोडको गुँदपाकमा खानै नहुने कुरा हलिनुमा, अनमोलले उत्पादन गर्ने कन्हैया घिउमा 'घिउको मात्रा शून्य' हुनुमा र भक्तपुरको पानी कारखानामा पानी फोहोर हुनुमा उपभोक्ता झट्ट हेर्दा ठगिएका देखिन्छन् । एक हिसाबले ठगिएका हुन् पनि ।

'तर अर्काे हिसाबले हेर्दा यो हाम्रो सरसफाइप्रतिको कमजोरी पनि हो,' डा. शर्मा भन्छन्, 'फोहोर ठाउँमा खाँदै नखाए, त्यस्तो पसलमा जाँदै नजाए व्यापारीहरू बाध्य भएर सरसफाइ गर्छन्, मिसावट गर्न डराउँछन् । हाम्रो फोहोरी बानीले समस्या बढाएको हो ।'

चीजहरू जति सफा र राम्रा देखिए पनि नांगो आँखाले देख्न नसक्ने असंख्य भाइरस र ब्याक्टेरियाहरू हामी वरपर जतै पनि व्याप्त छन् । फोहोर ठाउँ र दूषित पानीमा ती सबभन्दा ज्यादा पाइन्छन् । ती सूक्ष्म जीवको सम्पर्कबाट एकदमै अलग बस्नु कसैका लागि पनि सम्भव छैन । तिनको प्रवेश जीउमा हुनबाट जसले जति रोक्न सक्छ ऊ नै स्वस्थ रहन्छ । तर अप्ठेरो कहाँ छ भने आफूले सरसफाइ गरेर पुग्दैन । हाम्रो जीवन एकअर्कासँग फुत्काउनै नसकिने गरी अन्तनिर्भर छ । एउटाले गरेको फोहोरले अर्कालाई पनि सजिलै असर पुर्‍याउँछ । शौचालयमा लगाउने छेस्किनी, भर्‍याङ चढ्दा जसले पनि समाउने रेलिङ, धेरै जनाले चलाउने कम्युटरको किबोर्ड, बसमा समाउने डन्डी र अरू पनि यस्तै सार्वजनिक सम्पर्कमा आउने चीजहरूमा लाखौं ब्याक्टेरियाहरू हुन्छन् । त्यो छोइसकेपछि कसैले हातै नधोई केही खायो भने त्यो बिरामी पर्ने सम्भावना निकै बढेर आउँछ ।

राम्रो गरी सफा गरिएको छैन भने शौचालयमा एकपटक पस्दा शरीरभरि करोडौं ब्याक्टेरियाले घर गरिसक्छन् । शौचालय गएपिच्छे कपडा फेर्ने कुरा व्यावहारिक हुन सक्दैन ।

यी ब्याक्टेरिया र भाइरसको पछि लाग्ने हो भने दिनभरिजसो नै हात मात्रै धोएर बस्नुपर्ने खतरा आउन सक्छ । दिनमा एकपटक पनि साबुन पानीले तीनपटक मिचिमिची हात नधुने धेरै मानिसहरू भएको हाम्रो समाजमा लुगा फेरेर खाना खानु निकै झन्झटिलो ठानिन सक्छ । एकातिर खानेकुरामा खानै नहुने कुरा मिसाउँछन् व्यापारी । अर्कातिर गरेर हुने सरसफाइमा पनि ज्यादातर मानिसको रुचि छैन । यस्तोमा बिरामी हुनु अनिवार्य हुन आउने डाक्टर शर्माको सरल विश्लेषण छ । विषाक्त र मिसावटयुक्त खानेकुरा खाँदाखाँदै पनि कतिपयलाई यसले छोएजस्तो देखिँदैन । हातै नधोई खाए पनि कोही कोही बिरामी पर्दैनन् । 'प्रकृतिले हाम्रो शरीरमा जहाँ बस्यो त्यहाँको वातावरणलाई पचाउन सक्ने खालको प्रतिरोधक शक्तिको विकास गराउँछ,' डा. शर्मा भन्छन्, 'त्यस हिसाबले हामी नेपालीको प्रतिरोध गर्ने क्षमता सफा ठाउँमा हुर्किएका युरोपेली र अमेरिकीको भन्दा बढी छ ।'

रोग प्रतिरोधात्मक शक्ति बढी छ भन्दैमा जे पायो त्यही खानेलाई चाहिँ रोगले नछाड्ने उनी ठान्छन् ।

No comments:

Post a Comment