Tuesday, September 20, 2011

अहिलेको भन्दा झन ठूलो भूकम्प आउने ....

ठूलो भूकम्प गएन । ठूलो क्षती भएन भनेर धुक्क हुनुपर्ने कारण छैन । अहिलेलाई धन्न ठूलो भूकम्प गएन । तर अहिलेको भन्दा अझ ठूलो जाने खतरा अझ चर्को छ । किनभने विशेषज्ञहरुले त्यहि औंल्याएका छन् । हाम्रो देशको भूबनोट र प्रथ्वीको चलायमान प्रव्रीती हेर्दा अझ ठूलो भूकम्प आउन सक्छ केहि दिनमै । त्यो खतरा किन बढि छ भने भूकम्प एक पटक आएपछि पटक आउने खतरा हुन्छ । झन पहिलो दोस्रो पटक साना भूकम्प गए भने अर्को पटक अघिल्लो भन्दा झन ठूलो भूकम्प आउने गर्छ । त्यसैले अहिले गएको भूकम्प अझ ठूलो भूकम्पको संकेत हुन सक्छ । बैज्ञानिकहरुले त्यहि तथ्यलाई औंल्याउने गरेका छन् ।

करिब डेढ वर्ष पहिले म भूकम्पबिद फ्रेदेरिक पेरिए कहाँ भर्खरै प्रकाशित मेरो किताब ‘त्यो नेपाल’ का लागि अन्तर्वार्ता गर्न गएको थिएँ । त्यतिबेलै उनले नेपालमा अब छिट्टै भूकम्प जान सक्ने औंल्याएका हुन् । जुन तथ्य ‘त्यो नेपाल’ मा उल्लेखित छ र उनले गरेको भविष्यवाणी मिल्योपनि । पेरिए पेरिस स्थित जुस्यू विश्वविध्यालयको भूकम्प अनुसन्धान केन्द्रका प्रमुख अनुसन्धानदाता हुन् । नेपालको भूकम्पिय संभावना बारे सबभन्दा भरपर्दो अनुसन्धान र अनुगमन गर्ने संस्था पनि फ्रान्सकै हो । उनी त्यसैको प्रमुख हुन् ।

उनले त्यतिबेला म सित साह्रै चिन्ता ब्यक्त गरेका थिए । अब आउने भूकम्प बिगतको भन्दा ज्यादै शक्तिशाली हुन्छ भन्नेपनि दाबी गरेका हुन् । अर्थात् १९९० मा गएको भूकम्प भन्दा ३० गुणा ठूलो भूकम्प जान्छ भन्थे उनी । नेपालमा अबको भूकम्पले ठमेल देखि टेकू सम्मको त एउटा घरपनि बाँकि राख्दैन भनेका थिए । सबै घर पूर्ण रुपमा ढल्छन् । उद्दार गर्न जाने बाटापनि बन्द हुन्छन् । पानीका पाइप, मुहान सबै बिच्छेद हुन्छन् । टेलीफोन सम्पर्क टुट्छ । अस्पत्ताल भवन समेत ढलेर घाइतेलाई उपचार गर्ने ठाउँसमेत हुन्न । अबको भूकम्पले नेपालका सबै प्रमुख शहरलाई गर्ल्यामगुर्लुम ढाल्छ भन्ने तथ्यपनि औंल्याएका थिए ।

नेपाली भाषा खरर बोल्ने उनी विश्व भरिकै भूकम्पिय जोखिम र संभावनाका बारेमा अनुसन्धान र निगरानीपनि गर्छन् । नेपालको त माटो, गेगर, चट्टान, पानी र ऐतिहासिक तथ्यको समेत अनुसन्धान गर्छन् । उनीहरुकै तथ्यले औंल्याएको थियो, अब नेपाल ठूलो भूकम्पको सम्मुख छ । नभन्दै उनले दाबी गरेझैं गयो भूकम्प । उनको भनाई के थियो भने ठूला भूकम्प जानु अघि साना तिन भूकम्प जान्छन् । तिनले घर हल्लाउँछन् । साना तिना क्षती पुर्‍याउँछ । त्यसपछि भयंकरको जान्छ जसले ठूलो क्षती पुर्‍याउँछ । उनका बिचारलाई मनन् गर्दापनि नेपालमा ठूलो भूकम्पको सामना गर्नुपर्ने हुन सक्छ ।

एशिया प्रशान्त क्षेत्रका अन्य मूलुकमा भूकम्प गयो भन्ने सुन्नासाथ उनी झसंग झसंग हुने रहेछन् नेपालको कहाली लाग्दो भौतिक संरचना संझेर । अनि ईन्डोनेशिया, जापान, भारतमा गयो भन्ने सुन्दा ‘लौ यो पटक त बचियो, अर्को पटक नेपालमा जाने हो कि !’ भन्दै पिरलो गर्छन् । त्यसो त उनले यो खतरा पटक पटक वर्षै पिच्छे नेपाली प्रशासकलाई औंल्याउनेपनि गरेका हुन् । खासगरि मनपरी भवन निर्माण गर्ने पारा देखेर उनले आफ्नै चिहान बनाएको भन्दै सुनाउँछन्। किनभने उनको भनाईमा नेपाल यति ठूलो भूकम्पिय जोखिम भएको ठाउँमा अवस्थित छ कि जहाँ एक तले भन्दा अग्लो भवन ठड्याउनै हुन्न । तर त्यसमा कसैलाई मतलब नै छैन । बढाउँदा बढाउँदा सात तल्ले सम्म ठड्याउने गरेका छन् । उद्दारकालागि जाने बाटोसम्म छैन । थोत्रा घरको पारा उस्तै छ ।

भूकम्पलाई टार्न सकिन्न । धकेलेर ढिलो पार्न सकिन्न । तर बच्न सकिन्छ भन्छन् उनी । कम्तिमा रित पुर्‍याएर भवन बनाउने हो भने ठूलो क्षती नहुने औंल्याउँछन् । तर टेर्ने कसले ? सरकार जुनसुकै पार्टीको बनोस् भूकम्पको भन्दा चुनावको मतलब हुन्छ । त्यसैले भोट तान्ने गतिबिधि मै ध्यान हुन्छ सबै सरकारको । जनतापनि उस्तै । मनपरी भवन बनायो । भएका नियम कानुन मिच्यो । दशौं तल्ला थप्यो अनि भूकम्पले क्षती गरेपछि सरकारले यसो गरेन र उसो गरेन भन्दै सरकारलाई गाली गर्‍यो । जनतानै उस्ता भएपछि सरकारले पो के गरोस् ?

जे होस् अहिले गएको भूकम्पले ठूलो क्षती गरेन नै । तर यो अब ठूलो भूकम्प जान्छ है भनेर प्रक्रितीले गरेको संकेत हुन सक्छ । बैज्ञानिकहरुको अनुमान र भएका अध्ययन अनुसन्धानको परिणामले भन्छ, अब झन ठूलो भूकम्प जान सक्छ । त्यसले नेपालका शहरलाई समथर बनाइदिन सक्छ भएका संरचना सबै सोत्तर पारेर ।

No comments:

Post a Comment