चीनको स्वशासित क्षेत्रमा व्यापार उत्थान र रतिरागका लागि लगिँदै छन् नेपाली युवती
माई लाइफ, माई राइट," घर पोखरा र नाम कल्पना परयिार बताउने बार डान्सरले अलिक झर्किंदै भनिन्। नेपालकी एक सामाजिक कार्यकर्ताले चीनको खासा पुगेर कल्पनालगायतका युवतीको पुन:स्थापन गर्न खोज्दा 'नेपाल लगेर दुईवटा बाख्रा दिएर यसैले जीवन चला भन्नका लागि फर्काउन खोजेको ?' भन्दै ती सामाजिक कार्यकर्तालाई कल्पनाले दिएको जवाफ थियो यो। नेपालसँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बत अन्तर्गत पर्ने खासामा भेटिएकी १५ वर्षिया कल्पना विगत तीन महिनादेखि स्थानीय झुपा -बियर बार)मा नर्तकी छन्। नेपाली, तिब्बती तथा चिनियाँ र केही संख्यामा भारतीय आगन्तुक बारका पाहुना हुन्। पाहुनासँग नारिंदै उनीहरूको टेबुलमा बसेर पाहुनालाई स्पर्श गर्नु, पाहुनासँगसँगै चुरोटको सर्को र ल्हासा बियरको चुस्की लिएर फ्लोरमा आफ्नो नृत्यकला देखाउनु नै उनको पेसा हो। तर, खासा, कुती, केरुङ र ल्हासामा झुपा भन्नासाथ बियर बार मात्र बुझिँदैन, देहसुखका लागि भौँतारनिेहरूको चौतारी भन्ने पनि बुझिन्छ।
रातको त्यस्तै ३ बजेको हुँदो हो। रंगीविरंगी-मधुरो प्रकाश र चर्को ध्वनिले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो। खासाको प्रसिद्घ पुरानो गुम्बा सामुन्ने रहेको वाङ्दे डिस्को बारमा पाँच जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्की-मस्की नाच्दै थिए। पृष्ठभूमिमा खासा बजार नै थर्किने गरी नेपाली, तिब्बती र हिन्दी गीत बजिरहेका छन्। 'मुन्नि बदनाम हुई...', 'ए माया बोल न किन यस्तो लाज...,' अनि, तिब्बती लोकभाकाका गीतहरूसँगै नेपाली युवतीहरू बियर र यौवनको उन्मादले झुम्दै गइरहेका थिए। बिहान ५ नबज्दै कल्पना मात्रै होइन, उनका संगीहरू एकएक गर्दै डान्स फ्लोरबाट हराउँदै गए। ग्राहकको संख्या पनि पातलिँदै गयो। स्थानीय लजहरूमा नेपाली युवतीहरू अघि बारमा भेटिएका ग्राहकसँग अभिसाररत हुँदै गए। बिहान ७/८ बजेपछि उनीहरू आ-आफ्नो कोठामा फर्किए।
१२ बजे खाना खाएपछि साँझ ४/५ बजे उठ्छन् उनीहरू। उठेपछि शृंगारपटारको हतारोमा देखिन्छन्। फेरी आफ्नो कार्यथलो बारमा गएपछि उही नित्यक्रम दोहरनि थाल्छ। नगरबधुको भूमिकामा आफूलाई अभ्यस्त बनाउन उनीहरू सिपालु हुँदै छन्, यसरी दिनदिनै।
छिमेकी मुलुक चीनको स्वशासित प्रदेश तिब्बत अन्तर्गतका नेपाली सीमानजिकका कुनैबेलाका साना गाउँ कुती, केरुङ, खासा, झाङ््मु आदि अहिले साना सहरमा रूपान्तरण हुँदै छन्। विकाससँगै उपभोक्तावाद पनि मौलाउँदै छ। परिणामत: त्यस्ता सहरहरू आर्थिक अवस्था कमजोर भएका चिनियाँ र तिब्बती मूलका युवतीसँगसँगै नेपाली युवतीहरूको पनि रतिराग विनिमयका गन्तव्य बनेका छन्। चीनमा उत्पादित उपभोग्य सामग्रीको बिक्री तथा नेपाल निर्यातको प्रमुख नाका खासा त्यस्तै एउटा सानो सहर हो, जहाँ बिहानदेखि साँझसम्म कारोबार चल्छ । र, साँझ छिप्पिँदै गएपछि नारी देहसँगको अभिसारमा रमाउने लालसा राख्छ, यो सहर। ठ्याक्कै यहीँनेर स्थानीय बासिन्दाका लागि नेपाली युवती यौनसुख आपूर्तिको साधन बन्ने क्रम बाक्लिँदो छ। करबि दुई किलोमिटर क्षेत्रफलमा फैलिएको अग्लो पहाडको खोचमा रहेको र भोटेकोसी नदीको आडमा बसेको पुरानो वस्तीको झल्को दिने खासा रतिरागात्मक सम्बन्धको साइनो खोज्नेका लागि सहज पहुँच भएको विस्तारति बजार बन्दै छ, जहाँ नेपाली युवतीको अत्यधिक माग छ।
यसरी तिब्बतका खासा, कुती, केरुङ र ल्हासामा नेपाली एजेन्ट र यहाँका रेस्टुराँ तथा डान्स बारका चिनियाँ मालिक तथा तिनका केही प्रतिशतका नेपाली साझेदारको मिलेमतोमा नेपालबाट युवतीहरू त्यहाँ रहेका रेस्टुराँ, डान्स बार र कतैकतै मसाज पार्लरमा ल्याइन्छन्। यी सहरहरूमा पुग्नेमध्ये सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, कैलाली, झापा, दोलखा, रौतहट, तेह्रथुम, बारा, सर्लाही, अर्घाखाँची, नुवाकोट, स्याङ्जा, ललितपुर, नवलपरासी, मकवानपुर, दाङ आदि जिल्लाका युवती बढी छन्। सीमा जोडिएको र गरबिीले सताइएको जिल्ला भएकाले होला, यसरी खासा पुग्ने नेपाली महिला तथा युवतीमध्ये सिन्धुपाल्चोक जिल्लाका सबैभन्दा बढी छन्। यहाँको वाङ्दे डिस्को बारमा डिजेका रूपमा कार्यरत हेटौँडाका विक्की लामाका अनुसार खासामा मात्र पाँचवटा डान्स बार, नौवटा नेपाली प्रकृतिका होटल, २५ वटा लज र आधा दर्जनभन्दा बढी क्याबिन शैलीका रेस्टुराँ सञ्चालनमा छन्। नेपालको भन्दा बढी मासिक पारश्रिमिक र लोभलाग्दो टिप्सका कारण पनि नेपाली युवती यतातिर आकषिर्त भइरहेका छन्। यहाँ खाने, बस्ने सुविधासहित सरसफाइ गर्नेले पाँचदेखि सात हजार, वेटे्रसले न्यूनतम सातदेखि नौ हजार, नर्तकीले १० देखि १२ हजार रुपियाँसम्म पाउँछन्। यसबाहेक देहसुख प्रदान गरेबापत पाउने रकम अर्को आकर्षण हो। कल्पना भन्छिन्, "पैसा भए पनि बन्धकजस्तो जीवन भएकाले मज्जा छैन मुग्लानमा।"
नेपाली सीमाबाट ३० किलोमिटर क्षेत्रसम्म आवतजावत गर्न एक दिनका लागि अनुमति पत्र दिइन्छ। तर, कतिपय नेपाली युवतीहरू यस्तो पासमा गएर तीन महिनाभन्दा बढी समय बिताउँछन्, खासामा। कोदारीस्थित अध्यागमन कार्यालयका प्रमुख विजयराज पौडेलका अनुसार सिन्धुपाल्चोकबाट नागरकिता लिएको छ भने एक वर्षको पास हुन्छ। यसले एक वर्षसम्म तिब्बतमा ३० किलोमिटरभित्र जान सक्ने प्रावधान छ। सिन्धुपाल्चोकबाहेकका जिल्लाको नागरकिताका आधारमा एकदिने प्रवेश पास दिइन्छ। "हामीले नागरकिताका आधारमा खासा प्रवेशका लागि एकदिने पास दिनैपर्छ, खासामा अनुचित काम गर्न लागेको शंका लागे पनि हामीले प्रवेश पास रोक्न मिल्दैन। किनभने, नियम नै यस्तै छ।" पौडेल भन्छन्, "कुनै सामाजिक संस्था र प्रहरी निकायको समन्वयका आधारमा त्यसरी खासामा बेचिन थालेका युवतीलाई परामर्श दिन र सचेतना जगाउने कार्यक्रम नै प्रभावकारी हुन्छ, यसका लागि। नियमत: हामी रोक्न सक्दैनौँ।"
एकदिने पास चीन-नेपाल सीमाको तातोपानी गाविसस्थित लिपिङ्मा रहेको नेपालको अध्यागमन कार्यालयले दिने गर्छ। पास पाएका युवती तथा महिलामध्ये कोही मात्र नेपाल फर्किन्छन् भने कोही कुती, केरुङ र ल्हासासम्म पनि पुर्याइन्छन्। नतिजा, नेपाली युवतीहरू आफ्नो यौवनको त्यहाँ मोलतोल गर्न बाध्य हुन्छन्। प्राय: युवती एकदिने पासमा खासा पुग्ने र रेस्टुराँ मालिकले त्यहाँ अर्कै पास बनाइदिने हुँदा त्यसैका आधारमा बस्ने गरेका छन्। चिनियाँ प्रहरीले नेपाली नागरकिता र सानो उमेरका लागि विद्यालयको परचिय-पत्र हेर्ने भएकाले खासामा युवती पठाउने गिरोहको सञ्जालले नक्कली नागरकिता र विद्यालयको परचिय-पत्रसमेत बनाएर पठाउने गरेको देखिन्छ। तर, चिनियाँ प्रहरीले नेपाली युवतीहरूको आगमनलाई प्रोत्साहित नै गर्दै आएको छ।
नेपाली युवतीको अभावमा खासाका डिस्को, बार र रेस्टुराँ तथा लजहरूले मनग्गे आम्दानी गर्न नसक्ने भएकाले यहाँ नेपाली युवतीहरूको उपस्थिति चिनियाँ पक्षका लागि अनिवार्यजस्तै बनेको देखिन्छ। खासाको बजार विस्तार हुँदै गएपछि त्यहाँको मुख्य व्यापारमा हान वंशीय चिनियाँहरूको प्रभुत्व भइसकेको छ। हानहरूको प्रवेशले स्थानीय तिब्बती जनतामा निराशा आउला भनेर पनि उनीहरूलाई भुलाउन यहाँका डिस्को, बार र रेस्टुराँमा नेपाली युवतीहरूको प्रवेशलाई स्थानीय प्रशासनले प्रोत्साहित गरेको बताउँछन्, एक स्थानीय। उनका अनुसार खासा, कुती, केरुङ, ल्हासालगायतका तिब्बती क्षेत्रमा चिनियाँ सरकारले चिनियाँ नागरकिका लागि 'सेक्स पार्लर' सञ्चालनको अनुमति दिएको छ। खासामा पनि एउटा यस्तै प्रकृतिको 'पार्लर' छ तर नेपाली ग्राहकलाई त्यहाँ जान खुला भए पनि नेपाली युवतीलाई भने त्यहाँ नगरबधुका रूपमा काम गर्न प्रतिबन्ध छ। आफ्नो घरेलु व्यापारमा कुनै कमी नहोस् भन्नाका लागि पनि स्थानीय प्रशासनले यस्तो प्रावधान गरेको हो। "रेस्टुराँ तथा डान्स बार सञ्चालकले नियमित ग्राहकलाई खुसी पारेर आफ्नो व्यापार बढाउन नेपाली युवतीहरू अत्यावश्यक हुन्छन्," नेपालबाटै खासा पुगेर शेर्पा डिस्कोमा काम गर्ने चितवनकी शोभा कँडेल भन्छिन्, "यहाँ नेपाली युवतीहरू नहुने हो भने आधाभन्दा बढी डिस्को तथा रेस्टुराँ र लज बन्द गर्नुपर्ने हुन्छ।"
सम्भवत: यही कारणले हुनसक्छ, यसरी खासालगायतका क्षेत्रमा पुगेका नेपाली युवतीहरूमाथि प्रहरीले कुनै केरकार गर्दैन। दुई महिनामा एकपटक रक्त परीक्षण गर्दा कुनै गम्भीर रोग नदेखिएसम्म उनीहरूलाई नेपाल र्फकन हतोत्साहित नै गरिन्छ। चिनियाँ प्रहरी स्वयं पनि यस्ता नेपाली युवतीका लागि पैसा खर्च गर्न सक्ने भलादमी ग्राहक हुन्। नेपालमा जस्तो प्रहरीबाट उनीहरूले प्रताडित पनि हुनु पर्दैन। यहाँका प्रहरी नेपाली युवतीका लागि सहज छन्। "म पोखराबाट काठमाडौँको ठमेलमा पुगेर डान्स बारमा काम गर्थें। एक जना एजेन्टले खासामा ब्युटीपार्लरको काम छ, महिनाको २० हजार रुपियाँभन्दा बढी आम्दानी हुन्छ भनेर यहाँ ल्याइपुर्याएको हो," शोभा भन्छिन्, "यहाँ आएपछि असली काम के रहेछ भन्ने थाहा भयो तर राम्रो आम्दानी हुने, कसैको डर नहुने र खान, बस्न धेरै नराम्रो नभएकाले तीन महिनादेखि यतै छु, दसैँमा नेपाल र्फकने कोसिस गर्छु।" शोभाका अनुसार नेपाली एजेन्टले प्रतियुवती तीनदेखि पाँच हजार रुपियाँ लिएर खासा पुर्याएपछि त्यस्ता नेपाली युवतीहरू डान्स बार र रेस्टुराँको स्वामित्वमा रहन्छन्। कल्पनाको कथा पत्याउने हो भने उनीजस्ता धेरै युवती आर्थिक अभावका कारण सोचेजस्तो जीवन बिताउन नसकेपछि आफू बेचिएको आफैँले थाहा पाए पनि यहाँ आएकै छन्।
चीनको खासालगायत साना सहरहरूमा कार्यरत नेपाली युवतीहरूका सम्बन्धमा माइती नेपालले गत २२ साउनमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा 'तिब्बतमा कार्यरत केही युवतीलाई त्यहाँ लैजाने व्यक्ति वा समूहले राम्रो र सम्मानित कार्यका लागि भनेर लगेको तर त्यहाँको वातावरणका कारण उनीहरूले घर र्फकन चाहे पनि आफ्ना कागजातहरू कम्तीमा तीन महिनासम्मका लागि डान्स बारको मालिकले राखेकाले फर्किन नपाउँदा बाध्य भएर यस्तो पेसामा लागेको' भन्ने उल्लेख छ। अध्ययन टोलीमा सहभागी माइती नेपालका कार्यक्रम अधिकृत मदन चौलागाइर्ंका अनुसार भारतका कोठीमा बेचिएका महिला मौका मिलाएर भाग्न सके भने नेपाल आइपुग्न सक्छन् तर खासालगायतका चीनका साना सहरमा कार्यरत नेपाली युवतीलाई भागेर नेपाल आउन त्यति सहज छैन। खासा, कुती, केरुङ, ल्हासालगायतका क्षेत्रमा एक ठाउँबाट अर्को ठाँउमा जानका लागि परचियपत्र तथा आधिकारकि कागजात आवश्यक पर्छ, जुन कागजात रेस्टुराँ बार मालिकहरूले आफूसँगै राख्ने गर्छन्। "यसले गर्दा चीनको अवस्था खतरामुक्त छैन," कार्यक्रम अधिकृत चौलागाइर्ं भन्छन्, "अझ खासा पुर्याइएका केही नेपाली युवतीलाई तीन/तीन महिनामा तिब्बतको एक सहरबाट अर्को सहरमा त्यो पनि स्थानीय प्रहरीकै सहयोगमा ओसारपसार गरिन्छ, यो एक किसिमले मानव बेचबिखन नै हो।"

No comments:
Post a Comment