नयाँ 'नेपाल सुन्दरी' मलिना जोशीलाई कर्पोरेट क्षेत्रमा काम गर्ने इच्छा छ। एमबीएकी विद्यार्थी मलिनाले नेपालमै धेरै अवसर देखेकी छिन्। महिलालाई प्रदान गरेको आरक्षण प्रणालीको भने उनी विरोधी हुन्। भन्छिन्, 'प्रतिभाशालीलाई अवसर दिनुपर्छ। आरक्षणले महिलालाई
प्रतिस्पर्धा गरेर जित्नबाट बन्चित गर्छ।'
तपाईको जवाफ निर्णायकहरूले निकै मन पराए नि?
महिला सशक्तिकरणबारे विभिन्न प्रोजेक्टमा काम गरिसकेकी छु। त्यही अनुभवको आधारमा मैले त्यस्तो जवाफ दिन सकेकी हुँ।
धेरै मिस नेपालले फिल्म खेलेका छन्। तपाईको इच्छा छ कि छैन?
मलाई अभिनय गर्न आउँदैन। त्यसैले फिल्म खेल्दिनँ बरु र्याम्पमा हिँड्ने रहर छ।
फिल्म चाहिँ हेर्नुहुन्छ कि हुन्न?
फिल्म हेर्छु तर फुर्सदमा। मैले भर्खरै नेपालमा बढ्दो फिल्म संस्कृति विषयमाथि थेसिस लेखेकी थिएँ।
यसअघि र्याम्पमा हिँड्नुभएको थियो?
घरपरिवारले कडिकडाउ गरेकाले हिँड्न पाएको थिएन। कक्षा ९ मा पढ्दा स्टेज डान्स चाहिँ गरेकी थिएँ।
कहाँकहाँ घुम्नुभो?
पोखरा, चितवन र पाल्पा घुमेँ। अब जोमसोम पुग्ने मन छ।
तपाई कसैको फ्यान हो कि?
अस्ट्रेलियन क्रिकेटर रिकी पोन्टिङ र गायक सुगम पोखरेलकी फ्यान हुँ। धरानमा सुगमको कन्सर्ट हुदाँ अटोग्राफ लिन सबैभन्दा पहिला पुगेकी थिएँ। पोन्टिङलाई पनि भेट्न चाहन्छु।
पहिलोपटक काठमाडौं आउँदा कस्तो लाग्यो?
चार वर्षअघि धरानबाट पहिलोपटक आउँदा मैले काठमाडौंमा धेरै दुःख पाएकी छु। मान्छेहरू नौला लागे। मिस वर्ल्डमा जाँदा पनि त्यस्तै होला भन्ने डर छ।
आफूलाई अघिल्ला मिस नेपालसँग तुलना गर्नुहुन्छ?
म आफूलाई अघिका मिस नेपालसँग तुलना गर्न चाहन्न। म आफैमा केही छु भने अरूसँग तुलना गर्नु बेकार हो।
आफ्नो शरीरको तौलबारे कतिको सचेत हुनुहुन्छ?
काठमाडौं आउँदा ४८ केजी थिएँ। बीचमा ६४ केजी पुगेको थियो। अहिले चाहिँ ५६ केजी छ। सचेत नै छु।
पहिलो प्रेम प्रस्ताव कहिले पाउनुभयो?
कक्षा ९ मा पढ्दा। तर मैले स्वीकारिनँ।
अहिलेसम्म कतिवटा प्रेमप्रस्ताव आइसके?
आधा दर्जन जति। मिस नेपालको उपाधि जितेर घरमा कुरा गरेकी थिएँ। बिहे गर्न दबाब पनि आइसकेको छ। एक वर्षचाहिँ बिहे गर्दिन।
कस्तो केटा मन पर्छ?
राम्रो लुक्स, ट्यालेन्ट र केटीलाई माया गर्ने र सम्मान पनि गर्ने।

No comments:
Post a Comment