एक अनुसन्धानका अनुसार महिलाका आँसुले पुरुषमा सेक्सको इच्छा कम गराउँछ, जसले उनको यौनजीवन सुखद नहुन सक्छ
भनिन्छ- महिला र आँसु पर्याय हुन् । झिनामसिना कुरामा पनि उनीहरू आँसु झारिहाल्छन् । कतिपय त आफ्ना कुरा मनाउन आँसुलाई हतियार नै बनाउने गर्छन् । तर, अब त्यही आँसु उनीहरूको यौनजीवनका लागि घातक हुन सक्ने देखिएको छ । अनुसन्धानकर्ता भन्छन्, 'महिलाको आँसुले पुरुषमा सेक्सको इच्छा अर्थात् कामोत्तेजना कम गराउँछ ।'
इजरायलको विजमान संस्थानका अनुसन्धानकर्ताले महिलाका आँसुमा हुने रसायनले पुरुषको कामोत्तेजनालाई कम गर्ने बताएका छन् । संस्थानसँग आबद्ध प्रोफेसर नोआम सोबेलले भने, 'महिलाको आँसुमा पाइने यो रसायनले पुरुषमा कामोत्तेजना गराउने हर्माेन 'टेस्टोसटेरोन' कम गराउँछ, जसको कारण पुरुष यौनप्रति कम रुचि राख्न थाल्छ ।'
अनुसन्धानको क्रममा अनुसन्धानकर्ताले महिलाको आँसु जम्मा पारेका थिए । त्यसपछि पुरुषलाई फरक-फरक महिलाको तस्बिर देखाइयो । र, उनीहरूलाई साधारण नुन र महिलाको आँसुबाट बनाइएको नुन सुँघाइयो । जसजसलाई महिलाको आँसुबाट निकालिएको नुन सुँघाइयो उनीहरूले फरक-फरक महिलाको तस्बिर देखेर पनि कुनै कामोत्तेजक प्रतिक्रिया देखाएनन् ।
अनुसन्धानकर्ताले यो प्रक्रियामा पुरुषमा टेस्टोसटेरोनको मात्रा १३ प्रशितसम्म कम भएको पाएको बताए । यो अनुसन्धानको विषयमा प्रोफेसर सोबेलले भने, 'यो अध्ययनले साबित गर्छ कि प्रत्येक मानिस दोस्रो व्यक्तिलाई केही संकेत दिन्छ, जसको आधारमा दोस्रो व्यक्तिको व्यवहार तय हुन्छ । यो प्रक्रिया जानअन्जानमा हुन्छ ।'
तथापि यो संकेत कस्तो किसिमको हुन्छ र कुन आधारमा उत्पन्न हुन्छ भन्ने कुरा पत्ता लगाउन भने बाँकी छ । सोबेलको टिम अब पुरुषको आँसुले महिलामा पार्न सक्ने प्रभावको विषयमा जान्न जुटेका छन् ।

No comments:
Post a Comment