Tuesday, September 20, 2011

प्रेमपत्र लेख्ने डरले छोरीलाई स्कूलै नपठाउने ?

के कति कारणले गर्दा गैरसरकारी क्षेत्रमा जागिर गर्न पुगें त्यो लामो कथा हो । गरिब, अशिक्षित, भोका जनता समक्ष धेरै पटक उनीहरुको अवस्था बुझ्न घर घर गईयो । कहिले शिक्षा अथवा रोजगारीका कुरा गर्न त अनि कहिले सामाजिक भेदभावका पक्षहरुलाई न्युनिकरण गर्न सकिन्छ कि भनेर स्थानिय मानिसका दैला चहारियो । सात वर्षे समयमा मैले त्यस्तो शिर ठाडो पार्ने केही गरे जस्तो लाग्दैन नै, तैपनि सके जति सहयोग गरियो । सुझाव दिईयो । अनुभवहरु भिन्न खाले भटिईयो । सँगालिइयो । धेरै पटक नाजुक अवस्था थाह पाएरपनि केहि गर्न नसकेकोमा मन भाँच्दै ओराली झरियो ।

यस्तै स्थानिय स्तरमा काम गर्न जाँदा एक पटक साँझको अँध्यारोले घेर्‍यो । वास बस्ने ठाउँमापनि पुगियो । करिब १० वर्षिया बालिकाले चिया ल्याइन् । उनको नाम सोध्दा लाजले भित्र दौडिन् । अनि घरबेटी दाईलाई ‘सोधे – छोरी हो दाई’ ? उनले बिस्तारै मुन्टो हल्लाउँदै ‘हो ‘ भने। मैले लगतै अर्को प्रश्न उनका अघि तेर्स्याएँ- कतिमा पढ्छिन् ? उनले भने- हामी गरिबले कसरी पढाउने छोरीलाई ? फेरी अर्काको घरजाने जातलाई धेरै पढाएर पनि काम लाग्दैन । भोली श्रीमान्को घरमा गएर पनि भात पकाउने । गोरु बाच्छा हेर्ने हो । त्यसका लागि किन विद्यालय पठाउने ? त्यो सुन्दा त आफुलाई भाग्यमानी रैछु म जस्तो लाग्यो । मेरा बाबु आमालाई मनमनै धन्यावाद दिएँ ।

अहिलेसम्म उनले मलाई दिएका जवाफले अझै मलाई चित्त बुझेन । मैले फेरी प्रश्न गरे ‘के तपाई गरिब भएकै कारणले विद्यालय नपठाएको हो त’ ? सरकारी विद्यालयमा त्यस्तो धेरै शुल्क त लाग्दैन । फेरी वालिकाहरुका लागि त अझ निशुल्क पाठ्यक्रम पनि पाईन्छ । उनलाई मैले यस्तै धेरै कुरा सुनाएँ । विभिन्न गैरसरकारी क्षेत्रहरुको प्रयासमापनि पढाउन सकिन्छ भनेर अर्थ्याएँ । उनी एकछिन टोलाए । अनि गाँठी कुरो खोले- बहिनी लेखपढ गर्न जान्ने भएभने प्रेमपत्र लेख्छन् । परिवारको इज्जतको प्रवाह नगरि हिँड्छन् । हाम्रो इज्जत जान्छ । त्यो भन्दा विद्यालय नपठाएको बेस । उनले छरछिमेकका अन्य एक दुई जना केटीले त्यस्तो गरेको पनि बताए ।

उनको त्यो डरलाई बुझेर मैले धेरै बेर उनीसँग कुरा गरें सम्झाउन सकिन्छ कि भन्ने सोचले । अन्तमा विद्यालय पठाउन सहमत पनि भए उनी । त्यो हाम्रो लामो छलफल सकिएपछि मलाई कुनै एउटा ठुलो युद्ध जिते जस्तो लाग्यो । खुशी र आनन्दको महसुस भएको थियो । पछि त्यो क्षेत्रमा काम गर्ने मेरा साथी सँग बुझ्दा ती नानीको विवाह भएको जानकारी पाएँ । कक्षा तीनमा अध्ययनरत हुँदै उनको बिहे गरिदिएछन् । जीत दीर्घकालिन भएन सोच्दै भन्ने सोच्दै मन अमिलो बनाएँ ।

त्यसको अर्थ म पुरै निराश भएँ । हतोत्साही भएँ । अब केहि गर्न सकिन्न । यो सधैं यस्तै रहन्छ भनेर पुरै नकात्मक भएकि भने होइन नै । परिवर्तनका गोरेटा स्पष्ठ कोरिने संभावना उति बिघ्न तत्कालकालागि नदेखिएपनि आशाका किरणहरु हराएकै भने छैनन् । हाम्रो देश, हाम्रो समाज, हाम्रो संस्क्रिति र चिन्तन अनि हामी सबै सबै परिवर्तनको संघारमा छौं । त्यसैले सकारात्मक परिवर्तन धिमा गतीमै भएपनि ल्याउन भने अवश्यै सकिन्छ भन्ने लागेको छ । त्यसकालागि हामी सबैले केहि न केहि गर्ने तत्परता देखाउनै पर्छ । केहि योगदान भने गर्नै पर्छ ।

No comments:

Post a Comment