Friday, September 9, 2011

यौनशिक्षाका बारेमा खुलेर छलफल गर्दा धेरै किसिमका रोग एवं विकृतिहरूबाट बचिंदो रहेछ

अहिले जमाना फेरिएको छ । यौन तथा यौनशिक्षाका बारेमा कुरा गर्ने प्रवृत्ति पनि फेरिएको छ । मानिसहरूले यौनशिक्षाका बारेमा खुलेर छलफल गर्दा धेरै किसिमका रोग एवं विकृतिहरूबाट बचिंदो रहेछ भन्ने कुरा बुझेका छन् । यही चेतनाले होला, विकट तथा अविकसित गाउँका अशिक्षित मानिसहरूबीच पनि धेरै ठाउँमा यस विषयमा बहस, चर्चा एवं नियमित कार्यक्रमहरू हुन थालेका छन् । त्यसमा पनि किशोर-किशोरीहरू धेरै अगाडि छन् । उनीहरूलाई परिवार नियोजन संघ, विभिन्न सामाजिक संघसंस्था एवं युवाक्लबहरूले सघाइरहेका छन् ।

रूपन्देहीको विकट गाविस रुद्रपुरलाई लिन सकिन्छ । त्यहाँका युवाहरू साप्ताहिक रूपमा भेला भएर यौनशिक्षा, यौन समस्या एवं समाधानका बारेमा कुरा गर्छन् । त्यति मात्र होइन, आफूले सिकेका र छलफल गरेका यौनका कुरा गाउँका अरू मनिसहरूलाई समेत सिकाउँदै हिंड्छन् । जसका लागि रुद्रपुरका किशोर-किशोरीहरू प्रत्येक शनिबार बिहान एकै ठाउँमा भेला हुन्छन्, गोलाकार बनेर बस्छन् र यौनशिक्षाका कुरा सुरु गर्छन् । १२ देखि १६ वर्ष उमेरका ती किशोर-किशोरीहरू आपसमा कुनै लाज मान्दैनन् । त्यसैले आफूमा भएका यौन कौतूहलता, समस्या एवं समाधानका बारेमा जिज्ञासा राख्छन् । पालैपालो कुनै संकोचबिना नै उनीहरू निर्धक्क आफू तथा आफ्नो परिवारमा हुने यौन समस्याहरूका बारेमा छलफल गर्छन् ।

सबैको समस्या र कौतूहलता सकिएपछि समाधानका बारेमा आ-आफ्नो भनाइ राख्छन् र त्यसमा विस्तृत छलफल गरी निष्कर्ष निकाल्छन् । त्यसपछि एक जनाले त्यस निष्कर्षको टिपोट राख्छन् । अर्कोले एक हप्ताको कार्यतालिका बनाउँछन् । समूहबाट त्यो तालिका पास गराउँछन् । उनीहरू यौनसमस्या तथा समाधानका बारेमा मात्र कुरा गर्दैनन् उमेर नपुग्दै विवाह गराउने एवं यौनशिक्षा सिक्न नदिने अभिभावकहरूलाई कारबाही पनि गर्दै हिंडेका छन् । बेलाबेलामा गाउँबाहिरका प्रशिक्षक ल्याएर उनीहरूलाई विशेष प्रशिक्षण दिइएको छ ।

झन्डै ४० जना किशोर-किशोरीले यसरी भेला भएर छलफल गर्दा गाउँमा युवावस्थामा हुने धेरै समस्या एवं विकृतिहरू घट्दै गएका छन् । यौनशिक्षाको अभावमा धेरै किशोर-किशोरी विभिन्न खालका विकृति तथा डरलाग्दा सरुवा रोगबाट पीडित भएको देखेपछि हाम्रो गाउँमा त्यस्तो नहोस् भनेर गाउँका सबै किशोर-किशोरी भेला हुने र यौनशिक्षाका बारेमा छलफल गर्ने गरेका हौं, —रुद्रपुर गाविसमा सुरु भएको सुनगाभा युवा सूचना केन्द्रमा आबद्ध ती किशोर-किशोरीहरू सामूहिक जवाफ दिन्छन् । उनीहरू साताको दुई घन्टा समय निकालेर यौनसमस्या र समाधानका बारेमा छलफल गर्न सक्ने पनि सूचना केन्द्रकै अगुवाइमा भएका हुन् ।

यौनशिक्षा तथा चेतना अभियान सुरु भएको दुई वर्ष पुगेको छ । जसले सुरुसुरुमा धेरै चुनौतीको सामना गर्नुपरेको थियो । केटाकेटीहरू एकै ठाउँमा भेला हुँदा पनि उनीहरूका अभिभावकहरू रिसाउँथे । भेला भएका ती केटाकेटीहरूले यौन तथा प्रजननका बारेमा कुरा गरेको थाहा पाएपछि त कति अभिभावकहरूले आफ्ना छोरीहरूलाई भेलाबाटै लतारेर कुट्दै लगेका थिए । तथापि अभियानमा जुटेका किशोर-किशोरीहरू आत्तिएनन् । बरु साहसका साथ आफ्नो अभियान चलाउँदै गए । जसले गर्दा छोरीहरू कुट्दै लाने अभिभावकहरूले अहिले घरको काम सघाएर छोरीहरूलाई भेलामा पठाउँछन् । त्यसको प्रतिफल समूहमा प्रशिक्षकहरूमध्ये किशोरीहरूको संख्या बढी भएको छ । चार जनाको समूहले सुरु गरेको उक्त यौनशिक्षा अभियान अहिले गाविसभरिकै विद्यालयमा फैलिएको छ ।

केन्द्रका अध्यक्ष मोहन शर्माका अनुसार ग्रामीण किशोर-किशोरीहरूमा यौन समस्या धेरै हुन्छन् तर पनि लाज एवं डरले समस्या कसैलाई सुनाउँदैनन् । जसले गर्दा विभिन्न खालका विकृति एवं रोगहरू फैलिएका हुन्छन् । त्यसैले बालविवाह हटाउने उद्देश्यले ५ वर्षअघि सुरु भएको उक्त अभियान मोडेर यौनशिक्षा एवं समस्या समाधानतर्फ ढालिएको हो । सुरुमा धेरै चुनौती भए पनि अहिले जताततैबाट स्याबासी एवं सद्भाव पाइएको छ । धेरै अरू संघ-संस्थाले पनि मिलेर काम गर्न खो जिरहेका छन् ।

सुनगाभा युवा सूचना केन्द्रले गाउँमा चेतना फैलाएको छ । साथीहरूमाझ बोल्न नसक्नेहरूलाई प्रशिक्षक बनाएको छ । १२-१३ वर्षमै विवाह गरेर जान बाध्य किशोरीहरूको विवाह २० पारि पुर्‍याएको छ । छोरीहरूको इच्छाविपरीत विवाह तथा बहुविवाह गर्ने तथा गराउनेहरूलाई निरुत्साहित पारेको छ । यसबाहेक शिशु जन्माउने तथा रोक्ने विषयमा समेत सल्लाह एवं सुझाव दिन थालेको छ ।

संस्थामा आबद्ध भएर यौनशिक्षा लिएपछि आत्मविश्वास बढेको किशोर-किशोरीहरू बताउँछन् । यौनशिक्षाका अभावमा हुने सबै किसिमका संकोच र विकृति हटेको छ । केटाकेटीमा हुने अन्तर्विरोध हटेर भाइचाराको सम्बन्ध गाँसिएको छ । संस्थाकी कोषाध्यक्ष सन्तोषी गोतामे भन्छिन्- अहिले अभिभावकहरूले हाम्रो सहमतिबेगर छोरीको विवाह गराउँदैनन् । यौनशिक्षा लिन छोरी मात्र होइन, बुहारीहरूलाई पनि पठाउँछन् ।

No comments:

Post a Comment