इजरायलको अदालतले हालै एउटा ऐतिहासिक फैसला गर्दै वंश निरन्तरताका लागि मृतसैनिकको वीर्य संकलन गरेर कुनै महिलालाई कृत्रिम विधिद्वारा गर्भधारण गराई सन्तान जन्माउन सक्ने अनुमति दिएको छ। कुनै सन्तान नै नजन्माएका वा बिहे नै नगरेका सैनिक युद्धमा मरे भने उनीहरुको वंश निरन्तरताका लागि परिवारको अनुरोधमा वीर्य संकलन गरी सुरक्षित राख्ने र सन्तान उत्पादनका लागि प्रयोग गर्न सक्ने गरी अनुमति दिइएको हो।
यस्तो अनुमतिका लागि युद्धमा मारिएका सैनिकका परिवारले अदालतमा अनुरोध गरेका थिए। सन् २००२ मा इजरायलका १९ वर्षीय युवा सैनिक -सार्जेन्ट) लाई गाजापट्टीमा प्यालेस्टाइन हतियारधारीले बिहान ७ बजे गोली हानी मारिदिए। उनको विवाह भएको थिएन र वंश निरन्तरताका लागि कोही बचेको थिएन। केइभान कोहेन नामक ती युवकको बिहे गर्ने र सन्तान जन्माउने सपना चकनाचुर भयो।
यो घटनाले उनका बाबुआमालाई ठूलो चोट पुग्यो। त्यसपछि उनीहरुले चिकित्सकहरुलाई अनुरोध गरेर मृत्यु भएको दुइ घण्टापछि केइभानको वीर्य संकलन गरी अस्पतालमा सुरक्षितरुपमा राखे।
त्यसपछि केइभानका बाबुआमाले सन्तान उत्पादनका लागि उक्त वीर्य एक महिलामा कृत्रिम विधिद्वारा गर्भधारण गराउनका लागि चिकित्सकहरुसँग अनुरोध गरे। तर अस्पतालले यस्तो विधिको प्रयोग आफ्नै पति वा पत्नीको अनुरोधमा मात्र गर्न सकिने भनेर अस्वीकार गर्यो। केइभानको विवाह नभएकाले बाबुआमालाई निकै अप्ठ्यारो पर्यो। तर उनीहरु हतास र निरास नभई अस्पतालको यो निर्णय विरुद्ध चुनौती दिंदै अदालत गए। अदालतमा उनीहरुले केइभानले सन्तान जन्माउने इच्छा व्यक्त गरेको भिडियो रेकर्डिङ पनि प्रस्तुत गरे।
‘केइभानले धेरैजसो सन्तान जन्माउने कुरा गरिरहन्थ्यो’ -उनकी वकिलले भनिन्। तर मृतव्यक्तिको वीर्यबाट अरु नै -पत्नीबाहेक) महिलालाई गर्भधारण गराएर सन्तान जन्माउने कानुन नै नभएकाले आफूहरुलाई धेरै दुःखी तुल्याएको उनले बताइन्। त्यसपछि करिब चार वर्षको कानुनी लडाइँपछि हालै तेलअभिवको अदालतले केइभानका बाबुआमाको पक्षमा फैसला गर्यो। फैसलामा भनिएको छ- ‘केइभानको वीर्य उनको परिवारले छानेको कुनै पनि महिलामा प्रयोग गरी सन्तान उत्पादन गर्न सकिनेछ।’ साथै अदालतले सम्बन्धित मन्त्रालयलाई यस विधिबाट जन्मिने सन्तानको रेकर्ड राख्न पनि आदेश दिएको छ।
केइभानका बाबु भन्छन्- ‘एकातिर मेरो लागि डरलाग्दो क्षति भएकोमा म ज्यादै दुःखी छु भने अर्कोतिर म मेरो छोराको सपनालाई पूरा गर्न सफल भएकोमा खुशी पनि छु।’
तेलअभिव अदालतको यो निर्णयले इजरायलका परिवार अधिकारवादीहरु निकै खुशी भएका छन्। किनभने उनीहरु यस्तो निर्णयको माग गर्दै निकै पहिलेदेखि अदालत धाइरहेका थिए। साथै थुप्रै परिवारहरु पनि यस किसिमको अधिकार प्राप्तिका लागि मृतसन्तानको वीर्य संकलन गरेर कानुनी लडाइँ लडिरहेका थिए।
इजरायलमा युद्धका कारण धेरै मानिसको अकालमा नै ज्यान जाने भएकाले मृतव्यक्तिको वीर्य संकलन गरेर कृत्रिम विधिद्वारा सन्तान उत्पादन गर्नु समाजका लागि पनि स्वीकार्य भइसकेको छ।त्यसैले कैयौं सैनिकहरुको मृत्युपछि पोस्टमार्टमका सर्न्दर्भमा वीर्य संकलन गरेर राखिन्छ। वंश निरन्तरताका लागि गरिएको यो प्रयास कानुनी समस्याले गर्दा धेरैका लागि मनभित्रको एउटा कठोर पीडा बनेर बसिरहेको थियो।
परिवार अधिकारवादी तथा केइभानका वकिल रोसेनब्लुम भन्छिन्- ‘गत एक वर्षको कुरा गर्ने हो भने म युद्धरत एक सय जना सैनिकको बारेमा जान्दछु, जसले आफू लेबनानी गुरिल्लाबाट मारिएमा आफ्नो वीर्य संकलन गरेर राखिदिन अनुरोध गरेका छन्।’
उनका अनुसार कतिपय अमेरिकी सैनिकहरुले पनि आफू इराकमा युद्धमा जानुभन्दा पहिले वीर्यदान गरी अस्पतालमा संकलन गरेर राख्न थालेका छन्। परिवार अधिकारवादी रोसेनब्लुम भन्छिन्- ‘यो ठूलो मानवक्रान्ति हो, १० वर्षअघि कसलाई थाहा थियो कि मृतव्यक्तिको वीर्य संकलन गरेर वंश निरन्तरता दिन सकिन्छ भन्ने - मेरो विचारमा मानवताका लागि यो ज्यादै ठूलो उपलब्धि हो।’
अदालतले आफ्नो पक्षमा फैसला गरेपछि केइभानका बाबुआमाले इजरायली जनतासमक्ष एउटा भावनात्मक अपिल प्रकाशित गरे। इजरायलीहरुका लागि मात्र होइन, विश्वकै मानिसका लागि यो एउटा अनौठो अनुरोध थियो। अपिलमा भनिएको थियो- ‘मेरो मृत छोराबाट संकलित वीर्यबाट गर्भधारण गरी सन्तान जन्माउन कुनै महिला तयार हुनुहुन्छ कि ?’यो अपिल प्रकाशित भएपछि इजरायलका दुइ सयभन्दा बढी महिलाहरुले त्यसका लागि आफू तयार रहेको जानकारी प्रेषित गरे। त्यसमध्ये २ सय महिलासँग अन्तर्वार्ता लिइयो, स्वास्थ्यपरीक्षण गरियो, मनोविज्ञसँग छलफल गरियो। त्यसपछि एक जना महिला छानियो। केइभानका बाबु भन्छन्- ‘यी महिलाले मेरो हृदयलाई जितिन्।’
छानिएकी ३५ वर्षीया ती महिलाले आफूले केइभानको सन्तान जन्माइदिए पनि आफूलाई नचिनाउने प्रतिबद्धता जनाएकी छन्। अहिले मृत केइभानको वीर्य प्रयोग गरी गर्भधारण भइसकेको छ। अब मृत केइभानको सन्तान जन्मिने प्रतीक्षा भइरहेको छ।

No comments:
Post a Comment