गत महिना सूर्यज्योति उच्च माध्यमिक विद्यालय सुर्खेतकी एक छात्रालाई पाँच दिनका लागि विद्यालयबाट निष्कासित गरियो । उनलाई त्यसो गरिएको विद्यालयमा अनुशासनहीन काम गरेका कारण होइन, उनी विद्यालयबाट निष्कासित हुनुको कारण थियो, 'मासिक श्राव अर्थात् रजस्वला ।'
सहरमा पढ्ने र सुकिलोलाई यो कुरामा विश्वास गर्न त्यति सजिलो छैन तर उनी रजस्वला भएकै कारण विद्यालयबाट पाँच दिनका लागि निष्कासित गरिएकी थिइन् । वषार्ंैदेखि व्याप्त सामाजिक अन्धविश्वासका कारण रजस्वला भएका बेला सुदूरपश्चिमका महिलाले विभेदको सिकार हुनु परेको खबर कोहीबाट लुकेको छैन ।
तर, ज्ञान र शिक्षा दिने पवित्र स्थल विद्यालयबाट समेत रजस्वला भएका बेला यहाँका छात्रा र स्वयं शिक्षिकाले यस्तो विभेदको पीडा भोग्नु परेको छ । मध्यपश्चिमका पहाडी जिल्ला जाजरकोट, सुर्खेत, दैलेख, सल्यान, रुकुमलगायतका ग्रामीण क्षेत्रका विद्यालयमा रजस्वला भएका बेला छात्रालाई मात्र होइन शिक्षिकालाई समेत समस्या हुने गरेको छ ।
"जुन समुदायमा महिनावारी हुँदा घरबाहिर सुत्नुपर्छ, त्यो समुदायको विद्यालयमा पनि यस्तो समस्या त भइहाल्छ", मेहेलकुनाका हेमन्त केसीले भने, "विद्यालयमा महिनावारी भएकै कारण छात्रा र शिक्षिकाले विभिन्न खाले पीडा खेप्नु परेको छ, तर धेरै घटना बाहिर आउँदैनन् ।"
"मध्यपश्चिमका दुर्गम क्षेत्रहरूमा यस्तो प्रथाविरुद्ध पर्याप्त चेतनाको विकास हुन सकेको छैन", केसी भन्छन्, "सामाजिक तिरस्कारको भयले छात्रा तथा शिक्षिका पीडा सहन बाध्य छन् तर खुला रूपमा भन्न सक्दैनन् ।"
"रजस्वला भएका बेला महिनामा प्रायः पाँच दिनसम्म विद्यालय जाँदैनौँ", राकमको बागेश्वरी उच्च माविकी एक छात्राले आˆनो नाम नबताईकन भनिन्, "परीक्षाका बेला कसैलाई नछुने गरी विद्यालयमा जान्छौँ । शिक्षकबाटै यस्तो भेदभावको व्यवहार हुने गरेको छ ।" पीडितले भनिन्, "हामी महिला र छात्राले मात्र चाहेर यो कुरा अन्त्य गर्न सक्दैनाँै ।"
समस्या धेरै नै छ, बागेश्वरी उच्च माविका प्रधानाध्यापक रिमबहादुर चन्दले भन्नुभयो, "सामाजिक अन्धविश्वासको यो मान्यतालाई नमानेमा सामाजिक रूपमा असुरक्षित हुने डरले छात्रा र शिक्षिकाले यो कुरा खोल्न मान्दैनन् ।"
"दुर्गम क्षेत्रका विद्यालयमा यो समस्या जटिल रूपमा देखा परेको छ", क्षेत्रीय शिक्षा निर्देशनालयका एक कर्मचारीले भने, "यो पुरातन सामाजिक समस्या र मान्यताको उपज हो, सामाजिक आलोचना र थप हिंसाको खतराले शिक्षिका र छात्राहरू यो कुरा मान्न विवश छन् ।"

No comments:
Post a Comment