केही समय यता मानवीय सम्बन्धहरू तनावपूर्ण हुदै गएको देखिएको छ । बिशेषगरी प्रेम पछिका बिचलनहरू धान्न नसकेर कतिपय मानिसले आत्महत्याको बाटो रोजेका छन भनें कतिपयले हत्याको । कति चांही "कि मार्छु कि मर्छु" भन्ने सम्मको बदलाभावका साथ जीइ रहेका छन । घटना धेरै छन, भौगोलिक सीमा, पारिवारिक पृष्ठभूमि, शैक्षिक अवस्था, जात धर्म, बर्ग, उमेर केही पनि छुट्याउन नसकिने गरेर सम्बन्धहरूमा बिचलन आइ रहेको छ । करियरको कुरा गर्ने हो भनें अनेक ब्यवसायिक प्रक्रियाहरू पुरा गरेर डीएसपी समेत भइसकेका कन्चन थापाले माघ ८ गते सम्बन्धकै कारण आत्महत्या गरे, यता कलेज पढ्दै गरेका लाहानका सन्तोष चौधरी ले आफ्नो एकोहोरो प्रेम असफल हुने देखेपछि युवतीको हत्या गरे । हत्या र आत्महत्या गर्न नसके पनि मनभरी बदलाको भावना बोकेर "तँलाई पख" भन्ने स्थितिमा धेरै सम्बन्धहरू छन । प्रेम भनेर गरेको/गरेकी थिएँ सबै स्वार्थ रहेछ, समय बर्वाद भयो भनेर अनिदा रातहरू कटाउने पनि कम छैनन र आफै भित्रको पीडाले जल्दै गएर आफैले आफुलाई मानसिक रोगी झैं बनाएर बाँच्नेहरूको संख्या ठुलो छ । यसैका कारण हो भनेर छुट्याउनै नसक्ने गरी सम्बन्धहरू छरपष्ट भइ रहेका छन । प्रेमका नाममा किशोरावस्थामा गरिने अपरिपक्व निर्णयका कारण सम्बन्धहरूमा बिचलन आउने सामान्य मान्यता भएपनि उमेर, अनुभव सबै कुराले परिपक्व मानिसहरूमा पनि अहिले प्रेम र सम्बन्धमा संकट आउने गरेको पाइएको छ ।
सम्बन्धमा आउने तनाव र त्यसबाट उत्पन्न घटनाहरूलाई नियाल्दा त्यसका कारणमा मुलतः दुइ वटा पाटा अगाडी आउछन, किशोरावस्थाको उमेरजन्य भावावेश र बिबाहेत्तर सम्बन्ध । अधिकांश मानिसको जीवनमा एक पटक यस्तो समय आउछ जतिबेला आफुले मन पराएको मानिसलाई पाउन सकिएन भनें आफु बाँचेको के सार? भन्ने लाग्छ, मानौं मानिस जन्मिएकै प्रेम गर्न र आफुले चाहेको ब्यक्तिलाई पाउन हो । सामाजिक र पारिवारिक उत्तरदायित्वका बारेमा त्यस्ता मानिसहरूले पटक्कै ख्याल गरेका हुदैनन । आफु केन्दि्रत सोचले मात्र उनीहरूमा काम गरि रहेको हुन्छ । केही समय देखि नेपाली समाजमा बिबाहेत्तर सम्बन्ध -एक्ट्रा म्यारीटल रिलेशन) पनि बढ्दै गएका छन । यी सम्बन्धका फरक फरक पहलुहरू छन, श्रीमती या श्रीमानसंग असन्तुष्टीका कारणहरू अनेक छन । पुरुषहरूमा कसैलाई कुरा बुझ्ने आफ्ना दुखसुख मात्र होइन काम समेत बाड्न सक्ने श्रीमती चाहिएको छ भनें कसैलाई केही पनि नबुझ्ने, बुझे पनि वास्तै नगर्ने, गृहणीमा सीमित हुन मन पराउने श्रीमती चाहिएको छ । बिबाह पहिल्यै भइ सक्यो चाहनाहरू अहिले फैलिए, अब के गर्ने? आफुले सोचे जस्तै सबै कुरा मिल्ने जीवन साथी पाउन त मुस्किलनै छ, कसैले आफुले चाहे जस्तो केही अंश भएका केटी साथीहरूसंग नजिकीने क्रममा कतिका सम्बन्धहरू अगाडी बढ्ने गरेका देखिएका छन । यता अधिकांश महिलाहरू आफ्नो श्रीमानले साथीको ब्यवहार गरिदियोस भन्ने चाहन्छन । दुख सुख सोधोस, तिमीलाई के छ कसो छ देखि लिएर मन खुशी हुने कुरा गरिदियोस, समयमा घर आओस, बेलामौकामा घुम्न लैजाओस, उसका माइती पक्षलाई सम्मानको दृष्टिले हेरिदिओस यस्तै यस्तै । चाहना सम्बन्धित महिलाको पृष्ठभूमि, शैक्षिक अवस्था, कामको प्रकृति अनुरुप फरक फरक हुन सक्छन । कामकाजी महिला र गृहणीका आकांक्षाहरू एकै प्रकारका हुदैनन, गृहणीका निम्ति लोग्ने समयमा घर आइदिए पुग्छ भनें कामकाजीका लागि आफु काम बिशेषले ढिलो भएका बेला मुख अध्यारो नपारी दिए हुन्छ । श्रीमती गृहणी हुन भनें बाहिर काम गर्ने श्रीमान जे मा काम गरेपनि काम छ भन्नेमा रमाउछन, कहाँ के किन कुनै आपत्ति हुदैन तर श्रीमती कामकाजी छन भनें प्रायः श्रीमानको छटपटीनै त्यो कामको वरीपरी हुन्छ । ढिलो भए, किन? कोहीसंग फिल्डमा जानु परे संगै जाने मान्छे कस्तो हो, के हो? नगए के हुन्छ आदि इत्यादी । श्रीमान सार्बजनिक जीवनमा छ, उसको नाम इज्जत दुइ चार जना मानिसले नमस्कार गर्ने खालको छ भनें महिलाहरू दङ्ग पर्छन । कुनै पार्टीमा भेटिदा उनीहरू श्रीमानको नाम लिंदै म चाहीं उहाँकी श्रीमती भन्नुलाई आफ्नो गौरब ठान्छन तर त्यही ठाउँमा श्रीमती सार्बजनिक जीवनमा छे र श्रीमान त्यत्ति चिनिने स्थानमा छैन भनें प्रायः लोग्नेमान्छेहरू ’हृयुमिलिएशन' महशुस गरिरहेका हुन्छन। एउटा पार्टीमा भेटिएका एक चर्चित महिलाका श्रीमानलाई कसैले ति महिलाको नाम लिंदै "उहाँका श्रीमान" भनेंपछि तिनले अलि रुखो स्वरमा " मेरो नाम....हो" भन्दै आफ्नो परिचय दिएका थिए । यदि ति चर्चित महिलाका पतिका ठाउँमा एक चर्चित पुरुषकी पत्नी हन्थिन भनें निश्चयनै दङ्ग पर्थिन, आफ्नो नाम भन्ने आवश्यक्ता ठान्ने थिइनन । ति पुरुषले भनें मेरो आफ्नै नाम छ मैले अरुको नाममा किन चिनिने भन्ने ठानेर हतार हतार नाम भनेका थिए, ताकि उनको नामले त्याहाँ खासै अर्थ भनें राख्दैनथ्यो । एकछिन पछि पार्टीमै उनले त्यो हृयुमिलिएशनलाई चुरोट तानेर शान्त गरे, घरमा पुगेपछि नजाने त्यसको असर श्रीमती माथि कसरी पर्यो । अधिकांश कामकाजी महिलाहरू काम गर्नु पर्ने, कमाउनु पर्ने, घर धान्ने आर्थिक खर्च आफै जुटाउनु पर्ने र लोग्नेको तनाव पनि सहनु पर्ने बाध्यताबाट गुजि्ररहेका छन । यसको अर्थ गृहणीहरू चाहीं सबै खुशी छन भन्ने पनि होइन, उनीहरू मध्ये कतिपय अत्यन्त अपहेलित जीवन बाँची रहेका छन ।
यस प्रकारका असमानताबीच जीवन यात्रा अगाडी बढाउदै जाँदा कसैले मिठो स्वरमा बोलिदियो भनें मात्र पनि भाग्मानी ठान्ने परिस्थिति धेरैको जीवनमा आउन सक्छ । एकार्काको दुखसुखको खोजीले करिब करिब उजाड हुदै गएको जीवन रमाइलो झैं लाग्न सक्छ, आज... भोली... पर्सी मन नजिकिदै जाँदा सम्बन्ध अगाडी बढ्छ । के का लागि सम्बन्ध अगाडी बढेको हो भन्ने थाहै नपाई उनीहरू निकै अगाडी पगि सक्छन । घरमा श्रीमती/श्रीमान, छोरा छोरी सबै कुराहरूमा त्यसको असर पर्दै गएपछि एउटा निचोड लिन नसक्दा सुरुमा खुशी र संसारै रमाइलो जस्तो भएर सुरु भएको त्यही सम्बन्ध तनावतिर धकेलिन्छ । बिबाहेत्तर सम्बन्धमा महिला पनि धकेलिएका छन तर यस प्रकारका सम्बन्धमा महिला भन्दा पुरुषको संख्या बढि छ । घरमा श्रीमान हुँदा हुदै बाहिर अर्को मानिससंग हिड्ने महिला भन्दा घरमा श्रीमती हुंदा हुदै बाहिर केटी राख्ने पुरुषहरूको संख्या कैंयो गुणा बढि छ भन्ने कुरा बिभिन्न घटना अध्ययनहरूले पुष्टी गरेका छन । प्रायः पुरुषहरूले घरमा श्रीमती र छोरा छोरी हुँदा हुँदै अविबाहित केटीहरूसंग सम्बन्ध स्थापित गर्ने गरेको भेटिन्छ । त्यस प्रकारका सम्बन्धहरू प्रायः श्रीमतीसंग आफ्नो सम्बन्ध राम्रो नभएको, करिब करिब सम्बन्ध बिच्छेदको अवस्थामा पुगेको,अब आफु कुनै हालतमा उसंग बस्न नसक्ने, छोराछोरीले पनि आफुलाइृ बुझेको भन्दै केही बर्ष पछि बिबाह गर्ने शर्तमा सुरु हुने गरेका देखिन्छन । प्रायः वास्तविकता भनें त्यस्तो हुदैन, श्रीमतीसंग उनीहरूको राम्रै सम्बन्ध हुन्छ नभएपनि सम्बन्ध बिच्छेदनै गर्ने भन्ने कुराकानी सम्म पनि भएको हुदैन, पछि छोराछोरी बढ्दै जान्छन, सामाजिक नैतिक मूल्य मान्यताहरू अगाडी आउदै जाँदा त्यो पुरुष श्रीमती छोड्ने र बाहिर अल्झाएर राखेकी अर्की केटीलाई बिबाह गर्न सक्ने परिस्थितिमा हुदैन । समय गुज्रदै गएपछि केटीले अब कति यसरी बस्ने बिबाह गरौं भन्ने गर्छन, त्यसपछि सुरु हुन्छ तनाव । बिबाह गरौं घरमा श्रीमती छ , बिहेबारी गर्ने बेला भएका छोराछोरी छन नगरौं केटीको रातदिनको कचकच र दबाब के गरौं, कसो गरौं, घर परिवारमा थाहा होला, समाजले के भन्ला? फेस सेभिङ्गको कोशिस गर्दा गर्दै नसकेर हार खाएपछि आत्महत्या सम्मका घटनाहरू हुने गरेका छन । यस प्रकारका घटनाबाट केटीलाई पर्ने मानसिक समस्या धेरै छन, घर परिवारका सदस्यहरूले थाहा पाइसके, साथीहरूले के भन्लान देखि लिएर बुढेसकालमा एक्लै हुने भयले उनीहरूको मनमा ठुलो ठाउँ गटेको पाइन्छ । यस प्रकारका सम्बन्धमा न्याय खोज्दै अधिकारवादी संघ संस्थामा आउने महिलाहरू प्रायः उस्तै प्रकारको मनोदशाबाट गुजि्र रहेका हुन्छन । करिब एघार बर्ष सम्मको सम्बन्धमा यस्तै प्रकारको धोखा पाएर आत्महत्याको प्रयास गरेकी एक महिलालाई परामर्शदाताले संसारमा त्यत्ति एउटा मात्रै लोग्नेमान्छे छ र ? तपाइ बिबाह नभएको मान्छे कोही न कोही भेटिइ हाल्छन नि आत्महत्या किन गर्ने ?भनी संझाउदा उनले भनेकी थिइन, एउटा मानिससंग बुढेसकालमा यसो गर्ने उसो गर्ने भन्दै सपनाहरू सजाएर जवानी बिताएँ अब बुढेसकालमा अर्के मान्छेसंग कसरी बसौं? कसैले मलाई धोखा दियो भन्दैमा म मेरो आफ्नै मनलाई कसरी धोखा दिन सक्छु र? महिलाहरूको बढि संबेदनशीलता र पुरुषहरूको संबेदनहीनता पनि सम्बन्ध टुट्ने कारण मध्येको एक हो भन्न सकिन्छ तर यस्ता कुरालाई जनरलाइजनै गर्न भनें मिल्दैन । कतिपय महिलाहरू पनि संबेदनहीन हुन सक्छन र कतिपय पुरुषहरूमा पनि संबेदनशीलताको मात्रा बढि हुन सक्छ । प्रायः बिबाहेत्तर सम्बन्धहरू सम्बन्ध बन्दा पनि गलत र टुट्दा पनि गलतको अवस्थाबाट गुजि्र रहेका छन । गलत कार्यले मानिसमा तनाव बढाउनु स्वभाविक हो । त्यसोत प्रेम या 'एफेक्सन' भन्ने कुरा तिथि मिति जुटाएर, चिना हेरेर सुरु गर्ने कुरा होइन । समय परिस्थिति अनुसार यो आफै हुने हो । तरपनि सम्बन्धहरूको सुरुवात गर्दा आफ्नो अवस्थालाई ध्यानमा राखेर आफुले सुरु गर्न लागेको रिलेशनमा भोली के कस्ता अड्चनहरू आउन सक्छन यसका सवल पक्ष के हुन र दुरगामी असर पर्न सक्ने कुराहरू के के हुन भनेर बिचार पुर्याउनु आवश्यक देखिन्छ । साथै सम्बन्धलाई तनावपूर्ण हुनबाट जोगाएर ममतामयी बनाउनका लागि सम्बन्ध प्रतिको दृष्टिकोण स्पष्ट हुन पनि त्यत्तिकै जरुरी छ ।

No comments:
Post a Comment