इसाई धर्म गुरु पोप बेनेडिक्ट एक वर्ष अघिसम्म कन्डमप्रति निकै कठोर र नकारात्मक धारणा राख्दथे । वर्ष दिन पहिले क्यामरुनको भ्रमणका क्रममा उनले कन्डमको प्रयोगले एचआईभी र एड्स नियन्त्रणमा रत्तिभर मद्दत नपुग्ने भन्दै बरु उल्टो यसको प्रयोगबाट एचआईभी सङ्क्रमणले नराम्रो रूप लिने धारणा व्यक्त गरेका थिए । संसारभर नै एचआईभी, एड्सलगायत यौन रोग नियन्त्रणमा कन्डमको प्रयोग उपयोग हुने सन्देश प्रवाह भइरहेका बेला पोप बेनेडिक्टको कन्डमप्रतिको नकारात्मक धारणाले धेरैलाई द्विविधामा पारिदिएको थियो । यहाँसम्मको पोपको यो अभिमत किन र के प्रयोजनका लागि आएको भन्ने कुराले एचआईभी एड्ससम्बन्धी राष्ट्रसङ्घीय संयुक्त कार्यक्रम 'यूएनएड्स' का अधिकारीहरूलाई समेत निकै पिरोलेको थियो ।
तर केही यता भने पोप वेनेडिक्टले कन्डमप्रतिको आˆनो धारणा अचानक परिवर्तन गरेका छन् । हालै सार्वजनिक एक पुस्तक मार्फत उनले यौन सम्पर्कका बेला कन्डमको प्रयोग उचित हुने बताएका छन् । 'अब भने म कन्डमको प्रयोगको सल्लाह दिन्छु, यसले एचआईभी, एड्स तथा यौन रोग नियन्त्रणमा सहयोग पुग्दछ पोप वेनेडिक्टले भनेका छन् । पोपको कन्डमप्रतिको फेरिएको दृष्टिकोणले यूएन एड्सलगायत यौन रोग सम्बद्ध चिकित्सक तथा विशेषज्ञलाई अहिले भने उत्साहित बनाएको छ । "पोपको पछिल्लो भनाइले एड्स नियन्त्रणमा कन्डमको प्रयोग उपयोगी हुने सन्देश छरेको छ" यूएन एड्सका कार्यकारी निर्देशक भिसेल सिडिबेले भनेका छन् ।

No comments:
Post a Comment