Tuesday, March 15, 2011

प्रेम विवाह गरेकाहरुलाई..........

अपराध नियन्त्रण गर्ने प्रहरी प्रशासन अहिले यहाँ अर्कै काममा व्यस्त भएको छ । प्रेम गरेर भागेका र प्रेम विवाह गरेर घरमा बसेकालाई बिनापूर्जी जबर्जस्ती पक्राउ गरेर छुट्याउने र केटीका अभिभावकको जिम्मा लगाउने काममा अहिले प्रहरी बढी सक्रिय देखिएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
मानवअधिकार तथा जनवकालत केन्द्र, सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अधिकारकर्मी, कानुन व्यवसायी तथा पीडितहरुले प्रहरी अहिले अपराध नियन्त्रणमा भन्दा प्रेम विवाह गरेकालाई छुटाउने काममा बढी सक्रिय भएको भन्दै आक्रोश पोखेका छन् ।
केन्द्रका अध्यक्ष धर्मेन्द्र यादवले भन्नुभयो– ‘‘ प्रहरीहरु अहिले अपराधीलाई पक्राउ गर्नुको साटो अर्कै जिम्मेवारीमा बढी सक्रिय भएकाले समस्या अझै थपिँदै गएको हो ।”
तीन वर्ष लामो प्रेमलाई उमेर पुगेपछि भागेर वैवाहिक सम्बन्ध कायम गरेका र तीन दिनअघि प्रहरीद्वारा जबर्जस्ती श्रीमतीबाट छुट्याइएका राजविराज नगरपालिका–५ निवासी २२ वर्षीय रजनीशकुमार माझीले प्रहरीबाट आफू अन्यायमा परेको बताएका छन् ।
राजविराज–५ निवासी माझी र सुनसरीको देवानगन्ज–२ निवासी दीपनारायण भगतकी २१ वर्षीया छोरी नितुले पाँच दिनअघि सप्तरीको भारदहस्थित कंकालनी मन्दिरमा विवाह गरेका थिए ।
तर तीन दिनअघि प्रहरीले माझीको घरमा छापामार शैलीमा प्रवेश गरी लछारपछार गर्दै जबर्जस्ती गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय पु¥याई केटीलाई अभिभावकको जिम्मा लगाएको पत्रकार सम्मेलनमा पीडित माझीले बताउनुभयो ।
प्रहरीले आफ्नी आमा र दाजुलाई समेत नियन्त्रणमा राखेर धम्क्याउँदै एउटा कागजमा हस्ताक्षर गाराएको पीडित माझीको भनाइ थियो ।
सोही पत्रकार सम्मेलनमा उपस्थित सप्तरीको बरमझिया–९ निवासी २७ वर्षीय सोचेन्द्र यादवले प्रेम विवाह गरेकै कारण आफूलाई शारीरिक र मानसिक यातना दिनुका साथै प्रहरीले केटी पक्षको प्रलोभनमा आफ्नो श्रीमतीलाई पक्राउ गरी अभिभावकको जिम्मा लगाएको दुःखेसो पोख्नुभयो ।
आफूले गत पुस ६ गते घोघनपुर गाविस–८ स्थित शिवपार्वती मन्दिरमा पोर्ताहा–४ निवासी महेन्द्र यादवकी छोरी रेखासँग प्रेम विवाह गरेको उहाँले बताउनुभयो ।
डेढ महिनाको गर्भसमेत बोकेको अवस्थामा श्रीमती रेखालाई प्रहरीले जबर्जस्ती पक्राउ गरी आफन्तको जिम्मा लगाएकाले न्यायको खोजीमा सदरमुकाम आएको सोचेन्द्रले जानकारी दिनुभयो ।

No comments:

Post a Comment