Monday, June 20, 2011

भर्ना हुँदा चल्ला 'उपहार'




बालबच्चालाई विद्यालयमा भर्ना गरेपछि किताब, कलम उपहार पाउने कुरा त पुरानै हो। धेरैले विद्यालय पोसाक पनि दिने गरेका छन् र अहिले आएर दुर्गमका विद्यालयमा पौष्टिक आहारका थैला पनि दिइन्छ। तर, रुकुममा एउटा यस्तो विद्यालय छ, जसले भर्ना भएका विद्यार्थीका अभिभावकलाई कुखुराका चल्ला उपहार दिन्छ। त्यो पनि पाल्नका लागि।

विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन रुकुमको मुरु-७ स्थित शारदा नमुना प्राथमिक विद्यालयले अभिभावकहरूलाई पाँच जोर चल्ला दिन्छ। ती चल्ला पालेर अभिभावकले प्राप्त हुने आयको आधा हिस्सा विद्यालयलाई दिनुपर्छ भने आधा आफँैले राख्न पाउँछन्। दुई वर्षदेखि यसरी नै सो विद्यालय चल्दै आएको छ। यो नयाँ जुक्तिका कारण उक्त विद्यालयलाई जिल्ला शिक्षा कार्यालयबाट यस वर्षको नमुना प्राथमिक विद्यालय पनि घोषित गरिएको छ।

प्रत्येक विद्यार्थीका घरमा १० वटा कुखुरा पाल्नुपर्ने र आम्दानीको आधा रकम विद्यालयमा जम्मा गर्नुपर्ने नियम बनाएपछि विद्यालय नमुना बनेको हो। दुई वर्षदेखि विद्यालयले भर्ना हुन आउने विद्यार्थीलाई कुखुरा वितरण गर्न थालेको छ।

विद्यालय चलाउन विद्यार्थीहरूका घरघरमा कुखुरा पालन थालिएपछि विद्यालय सञ्चालनमा कुनै समस्या नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलवीर पुन बताउँछन्। पुनका अनुसार कुखुरापालनबाट वाषिर्क एक लाख रुपियाँसम्म आम्दानी हुन्छ। विद्यालयको शैक्षिक सामग्री खर्च, चार जना शिक्षकलाई तलब तथा विद्यालय भवन निर्माणको काम कुखुरापालनबाटै आएको रकमले बेहोरिएको उनको दाबी छ। "विद्यालयले कुखुरापालन योजना थालेपछि अभिभावकलाई पनि राम्रो आम्दानी हुने गरेको छ," उनी भन्छन्।

No comments:

Post a Comment