Saturday, June 18, 2011

'शरीर बेचेर बाँच्नुभन्दा त मर्नु निको।'

केही दिन पहिले हामी सपरिवार टिभी हेर्दै थियौँ। टेलिभिजनमा ठमेलको कुनै डान्स रेष्टुराँको कथा देखाइएको थियो। 'हे भगवान् कस्तो जमाना आयो' हजुरआमा फत्फताउन थाल्नुभयो। ममीले थप्नुभयो 'यसरी भगवानको वरदान बेचेर ज्यान पाल्नुभन्दा त मरेकै भए हुन्थ्यो।' मैले प्रतिवादमा भने 'रहरले यस्तो काम गरेका हुन् र यिनले ' हजुरआमा र ममीले मेरो बीचै मलाई उछिन्नु भयो 'शरीर बेचेर बाँच्नुभन्दा त मर्नु निको।'

सोचेँ मसँगै कलेज पढ्ने उमेरका दौँतरीहरु देह व्यापारमा संलग्न छन्। यीमाथि नानाथरीका आरोप लगाइन्छ। हेर्ने दृष्टिकोण नै पूरै नकारात्मक हुन्छ। समाजबाटै बहिष्कार गरिन्छ। समाजमा अगुवाहरु भन्छन् यस्तो - घृणित र फोहोरी काममा लाग्नेलाई तिरस्कार गर्नुपर्छ। अच्चम्मको कुरा हाम्रै समाजमा त्यस्ता घृणित र फोहोरी काम गर्नेले आफ्नो व्यवयास कसरी चलाएका होलान् समाजका यिनै ठेकेदार राती लुकेर उनीहरुकोमा पुग्छन् अनि दिनमा देखिएर कुरा काट्छन्। यौनव्यवसायी महिला चाहिँ आफ्नै परिचय पनि लुकाएर हिँड्न बाध्य छन्।

सहरको महंगीमा बाँच्न 'सहरिया' हुनुपर्ने 'बाध्यता' अनि गरिबीको पीडाले दौँतरीसंगै पढ्न नपाउनुको 'चिन्ता'ले गाँजेका अधिकांश 'गाउँले' युवती मसाज सेन्टर तथा रेष्टुराँका 'पेड शरणार्थी' बन्न पुगेका हुन्छन्। त्यसो त कमिसनको लोभमा चेलिबेटी ओसार्ने 'दलाल'को प्रलोभन र सँगिनीको फजुल खर्चीबाट लोभिँदै कतिपय युवती यौन व्यवसायमा 'फस्नु पुग्छन्। अनि न माथि उक्सिनै सकिन्छ न त पेसालाई जीवनभर अगाल्न नै। 'रहरु अनि 'बाध्यता' का सिकार हुन पुगेका युवती अनिश्चित अध्याँरो भविष्य बोकेर 'पैसावालुको यौन सेवामा हाजिर हुन विवश हुन्छन्।

'पीडा लुकाएर कृत्रिम मुस्कान छर्दै ग्राहकलाई यौन सन्तुष्टि प्रदान गर्नु' उनीहरुको 'धर्म' मानिन्छ। यही धर्म पूरा गरे यिनको 'डिमान्ड' बढ्यो हैन भने 'नो डिमान्ड'। उमेरसँगै माग घट्दै जान्छ तर उपेक्षा र घृणा बढ्दै जान्छ।

देशभित्रकै यौनकेन्द्रमा शरणर्थी जीवन बिताइरहेका नारीको भित्री रहस्य र यथार्थ पहिल्याउने कोसिस नै गरिँदैन। यस पेसामा संलग्न गराउनेलाई कारबाही गर्ने मुख्य जिम्मेवारी बोकेको प्रहरी प्रशासनले नै मौन समर्थनको नीति अख्तियार गरिरहेको आभास हुन्छ। पहिले लुकेर र सिमित ठाउँमा त्यो पनि निश्चित दरभाउ बिना गरिने देह व्यापार अहिले खुलेर र 'रेट' नै तोकेर मुख्य सहरका केन्द्रहरुमा फैलिएको पाइनुले अब यौन व्यवसाय अपराध नभएर व्यापार मात्र भएको हो कि भन्ने सन्देह हुन्छ। लागू नगरिएपनि कानुनमा यौन व्यवयायमा बन्देज लगाइएको छ। यस विडम्बनाऌ यसमा संलग्न महिलाले सधैँ गैरकानुनी काम गरेको मानेर शोषण सहनु परेको छ।

विभिन्न अध्ययनहरुअनुसार यस व्यवसायमा संलग्न महिला प्रायः अशिक्षित पतिले छोडेका टुहुरा र सौतेनी आमाको कारण घरबाट बाहिरिएहरु नै छन्। हातमा सीप र पढाइको प्रमाणपत्र नभएपछि उपलब्ध सहज विकल्प बनेको छ यौन व्यवसाय।

भारतमा यौन व्यवसाय कानुनी छ। तर नेपालमा गैरकानुनी भएकाले लुकिछिपी गरिन्छ। यौन व्यवसाय बन्द गर्ने हल्ला र भाषण गर्ने नेताहरुले यौन व्यवसायीको मर्म र वाध्यता बुझेनन्। यौन व्यवसाय निर्मूल पारेपछि यौन कर्मी महिलाले कसरी बाँच्ने त सडकमा भिख मागेर खाने बालबच्चा भोकले मर्न लागेको टुलुटुलु हेरेर बस्ने हैन भने उनीहरुले बाँच्ने आधार केलाइ बनाउने

मैले यसो भनेर यौन व्यवसाय फैलियोस् भन्न खोजेकी हैन तर यौन व्यवसाय बन्द गरेपछि त्यसबाट गुजारा चलाइरहेकाहरुलाई वैकल्पिक रोजगारीको व्यवस्था हुनुपर्छ भन्ने यथार्थमा जोड दिएकी हुँ।

सरकारले अशिक्षित एकल र असहाय महिलालाई सीपमूलक तालिम दिने हो भने यौन व्यवसाय बन्द गर्न सरकार लाग्नै पर्दैन आफै कम हुन्छ। सामान्यतः कसैको पनि शरीर बेच्ने रहर हुँदैन। तर बाँच्ने अरु आधार नभएपछि के गर्नु

यौन व्यवसायमा संलग्न महिलाका पीडा महिला अधिकारकर्मीले गम्भीरतापूर्वक बुभुने प्रयास गरेको देखिएको छैन। अरु कुरामा सानो चित नबुझ्दा पनि सडक र सदन तात्छ। सडक टायरको धुँवाले रुमलिन्छ तर हामी महिलाको अवस्थाबारे किन सबै मौन बाँच्ने आधार नभएर देह व्यापारमा लाग्न विवश महिलालाई सीपमूलक तालिम र महिला िहंसा बन्द हुनुपर्ने माग किन अहिले सुन्न पाइदैन विवश महिलाका पक्षमा किन सडक तात्दैन

करिष्मा किष्ट कलेज काठमाण्डौमा बीबीए पढ्दैछिन्।

No comments:

Post a Comment