Saturday, July 16, 2011

हरेक महिलालाई सुत्केरी हुन डर लाग्छ

आठ महिनाकी गर्भवती नायिका सञ्चिता लुइँटेललाई डाक्टरले भदौ ४ गतेको 'डेट’ दिएको छ । नायक निखिल उप्रेतीकी यी कान्छी पत्नी 'गोरो बच्चा पाउन’ दूध-दही धेरै खाइरहेकी छिन् । तौल १२ किलो बढेर अहिले ५७ पुगेको छ । 'नेसनल जोग्राफी’ च्यानलबाट कुन महिनामा बच्चाको शारीरिक विकास कसरी हुन्छ भन्ने सिकिन् रे, उनले । भीमसेनगोलास्थित माइतीमा बस्दै आएकी यी नायिकाको गर्भानुभव यस्तो छ:
आमा बन्दै छु, मेरो पेटमा अर्का पनि शरीर छ भन्ने थाहा पाउँदा अनौठो अनुभव हुने रहेछ । गर्भवती भएको यकिन भएपछि हामी निकै खुसी भयौँ । हामी त्यतिवेला मुम्बईमा थियौँ । निखिलजीले त साथीहरूलाई मिठाई बाँड्नुभएको थियो ।
निखिलजी र मैले ०६५ साल फागुन २८ मा उहाँको घर, सर्लाहीमा बिहे गरेका हौँ । बिहे गरेको एक वर्ष जति मैले फिल्म खेलिरहेँ । मलाई बलिउडमा पनि काम गर्ने रहर थियो । त्यसकारण मैले बुबाआमा, सासूससुरा र निखिलजीसँग एक वर्ष जति मुम्बई गएर स्ट्रगल गर्ने सल्लाह गरेँ । उहाँहरूले सहमति जनाउनुभयो । यहाँ पनि धेरै फिल्मबाट अफर आइरहेको थियो । तर, मुम्बई जाने सोच आइसकेकाले स्विकारिनँ ।
घरसल्लाहले नै म मुम्बई गएँ । फ्ल्याट लिएँ । पहिला नै कहाँ-कहाँ गएर कसकसलाई भेट्ने भन्ने तय भएको थियो । त्यसैअनुसार मैले मुम्बईमा सिरियलका लागि मान्छे भेट्ने काम तीव्रताका साथ अघि बढाएँ । केही ठाउँमा अडिसन दिँदै गएँ । म यहाँबाट गएको १५ दिन जति पछि निखिलजीले पनि आफू मुम्बई आउन चाहेको बताउनुभयो । त्यतिवेला उहाँ यहाँ निकै व्यस्त हुनुहुन्थ्यो । मैले फिल्म नछाड्न भनेँ । तर, उहाँले बाँकी सुटिङ सकेर आउछु भन्नुभयो । पछि, उहाँ मुम्बई आउनुभयो ।
मैले एक्लै बस्ने भनेर फ्ल्याट लिएकी थिएँ । निखिलजी गएपछि त्यहाँको सामाजिक अदालतमा हामीले पतिपत्नी भएको नाता खुलायौँ र सँगै बस्न थाल्यौँ । उहाँ पहिला मुम्बई बसेको मान्छे, आफ्नो किसिमको सर्कल थियो । मेरो पनि चिनजानका धेरै मान्छे थिए । मैले अडिसन दिँदै गएँ । झन्डै सात महिनापछि कलर्स टेलिभिजनको 'नन्दिनी' नामक टेलिशंृखलामा छनोट भएँ । त्यो सिरियलको डमीमा पनि अभिनय गरेँ । कुलबिन्दर सिंह कास्टिङ डाइरेक्टर थिए, उनकै माध्यमबाट म छनोट भएकी थिएँ । कलर्सले आफ्नो टिभीको सिरियलमा छनोट भएका अभिनेत्रीलाई दुई वर्ष बच्चा जन्माउन नपाउने सम्झौत्ाा गर्दाे रहेछ । मेरो पनि त्यही सम्झौता भएको थियो । डमी त खेलेँ तर प्रसारण सुरु नहुन्जेल भर नै नहुने भएकाले मैले यो कुरालाई त्यति साह्रो महत्त्व दिइनँ । बीचमा म 'कोही मेरो' फिल्मको डबिङका लागि काठमाडौं आएँ ।
०००
यताको काम सकेर म फेरि मुम्बई फर्किएँ । मुम्बईमा मैले अवसर पाउँदै थिएँ । अन्य सिरियलबाट पनि कुरा आएको थियो । त्यही बीचमा म गर्भवती भएछु । गर्भवती भएको पहिला त थाहै भएन । दुई महिना जति पछि शंका लाग्यो र चेकअप गराउन गयौँ । चेकअप गरेपछि डक्टरले हामीलाई बधाई दिए । म गर्भवती भएको दुई महिना भइसकेको रहेछ । पेटमा बच्चा आएपछि आफूमा जिम्मेवारी बढेको महसुस भयो । निखिलजी र मैले चिनजानका सबै साथीलाई मिठाई खुवायौँ । हामी त्यतिवेला आर्थिक र मानसिक, दुवै रूपमा कमजोर थियौँ । त्यतिवेला मैले एउटा बुटिकमा पार्टटाइम काम गरिरहेकी थिएँ । एकातिर करिअरको चिन्ता, अर्काेतिर पारिवारिक तनाब, निकै गालेको थियो मलाई । औसतमा ४५ किलोकी म त्यतिवेला दुब्लाएर ३७ किलोमा झरेकी थिएँ ।
०००
गर्भवती भएपछि मेरो मुड चेन्ज भयो । करिअर, पारिवारिक, मानसिक सबै तनाबबाट एकाएक मुक्ति मिल्यो । कुनै कुरामा पनि तनाब लाग्न छाड्यो । मात्रै पेटको बच्चाको ख्याल आउन थाल्यो । गर्भवती भएपछि हामीले 'नन्दिनी' युनिटलाई जानकारी गरायौँ । त्यसपछि म काठमाडौं आएँ । गर्भावस्थामा धेरै कुराको केयर गर्नुपर्ने भएकाले मैले आफ्नो शरीरलाई मात्र ध्यान दिएकी छु । मैले पर्याप्त मात्रामा पौष्टिक तत्त्व खाइरहेकी छु । कुनै कुराको पनि कमी हुन दिएकी छैन । गर्भवती भएपछि कसैलाई निकै बान्ता हुने गर्दछ, तर मलाई अहिलेसम्म भएको छैन । पेटमा बच्चा आएदेखि मलाई आमाको महत्त्व महसुुस भएको छ । हरेक आमाले सन्तानलाई कति माया गर्छन् भन्ने कुरा अहिले थाहा पाउँदै छु ।
०००
म अचेल निकै खन्चुवा भएकी छु  । हरेक दुई घन्टामा सन्तुलित आहार खाने गरेकी छु । मलाई अचेल निकै भोक लाग्छ । कुन महिनामा बच्चाको शारीरिक विकास कसरी हुन्छ भन्ने मलाई थाहा छ । एकचोटि नेसनल जोग्राफीमा शिशुको विकासक्रम देखाएको थियो । त्यसअनुसार अहिले मेरो बच्चाको ब्याकबोन विकास हुँदै छ । त्यसकारण अचेल दिनहुँ क्याल्सियमयुक्त खाना धेरै खाने गरेकी छु । त्यसमा पनि भिजाएको बदाम निकै खान्छु । क्याल्सियम, आइरन चक्की अनि भिटामिन पनि नियमित खाइरहेकी छु । सकाहारी भएकाले फलफूल, दूध, दही पनिर, सासूले गाउँबाट पठाइदिनुभएको सातु खाने गरेकी छु । आठ महिना लागेपछि काँडा पानी पिउन सुरु गरेकी छु । गर्भवती भएका वेला व्यायाम, योगा गर्नु निकै जरुरी छ । कसैकसैले गर्भावस्थामा व्यायाम गर्नु हुन्न भन्छन् । त्यो भ्रम हो । मैले नियमित व्यायाम गर्दै आइरहेकी छु । ध्यान पनि नियमित गर्छु । हरेक दिन हिँड्नु फाइदाजनक हुने भएकाले घरमै तलमाथि गर्ने गर्छु ।
मैले हरेक १५-१५ दिनमा डा.ज्योति अग्रवालसँग स्वास्थ्य जाँच गराइरहेकी छु । डाक्टरले मेरो नर्मल डेलिभरी हुन्छ भन्नुभएको छ । कतिपयले मेरो पेटमा जुम्ल्याहा बच्चा भएको अनुमान लगाइरहेका छन् । तर, डाक्टरले केही भन्नुभएको छैन । मेरो चाहना छोरी जन्मियोस् भन्ने हो । पेटमा के छ, भगवान् जाने । छोरा-छोरी जे भए पनि म खुसी छु । 
हरेक महिलालाई सुत्केरी हुन डर लाग्छ । डाक्टरले मलाई भदौ ४ गतेको डेट दिनुभएको छ । जतिजति दिन नजिकिँदै छ, मलाई उतिउति डर लाग्दै छ । ६ महिनादेखि पेटमा बच्चा चल्न थालेको हो । बच्चा चल्दा निकै आनन्द महसुस हुन्छ । मैले खाने कुरा खाँदा भित्र मेरो बच्चाले पनि खायो होला भन्ने लाग्छ । 
मलाई स्वास्थ्यमा केही समस्या छैन । पाँच महिनाको हँुदा खुट्टा सुन्निएको थियो । डाक्टरलाई सोधेँ, सामान्य समस्या हो भन्नुभयो । मनतातो पानीले खुट्टा धुने र तेल लगाएर मालिस गर्दा ठीक भयो । अहिले आठ महिना लाग्दा घाँटी र छाती हल्काहल्का पोल्ने गर्छ । बच्चाको कपाल बन्ने प्रक्रिया सुरु हँुदा यस्तो हुन्छ रे । डक्टरलाई सोध्दा सामान्य समस्या भएको बताउनुभयो । पहिला मलाई निद्रा धेरै लाग्थ्यो । तर, अचेल निद्रा निकै कम लाग्छ । कसैकसैलाई यस्तो हुन्छ रे । 
०००
दूध, दही धेरै खाए गोरो बच्चा जन्मिन्छ भन्छन् । त्यसकारण मैले दूध, दही निकै खाइरहेकी छु । संसारमा मैले देखेकामध्ये सबैभन्दा असल पुरुष मेरो बुबा हो । त्यसपछि ससुरा । त्यसकारण मेरो बच्चाको स्वभाव पनि मेरो बुबा र सुसुराको जस्तो होस् भन्ने मेरो कामना छ । 

हरेक महिलालाई सुत्केरी हुन डर लाग्छ । जतिजति दिन नजिकिँदै छ, मलाई उतिउति डर लाग्दै छ । ६ महिनादेखि पेटमा बच्चा चल्न थालेको हो । बच्चा चल्दा निकै आनन्द महसुस हुन्छ । मैले खाने कुरा खाँदा भित्र मेरो बच्चाले पनि खायो होला भन्ने लाग्छ ।

No comments:

Post a Comment