Wednesday, October 12, 2011

आइरन चक्कीले मृत्युको जोखिम

भिटामिनको कमी भएका वृद्ध महिलालाई भिटामिन चक्की दिँदा फाइदा हुने भएकाले यसलाई खान चिकित्सकले सल्लाह दिँदै आएका थिए


लन्डन/ भिटामिन चक्कीले शरीरलाई फाइदा पुर्‍याउने आम धारणा छ । तर, एक अनुसन्धानअनुसार भिटामिन चक्कीको बढ्दो प्रयोगले छिटो मृत्यु हुन्छ । वृद्ध महिलाले भिटामिनको बढ्दो प्रयोग गर्नाले छिटो मृत्यु हुने अनुसन्धानले देखाएको हो ।

भिटामिनको कमी भएका वृद्ध महिलालाई भिटामिन चक्की दिँदा फाइदा हुने भएकाले यसलाई खान चिकित्सकले सल्लाह दिँदै आएका थिए । तर, अहिले आएर धेरैजसो मानिसहरू आफँै भिटामिन तथा विभिन्न खनिजतत्वहरूको प्रयोग गर्न थालेका छन् । भिटामिनको बढ्दो प्रयोगले भने हानी गर्ने अरकाइभ अफ इन्टर्नल मेडिसिनले बताएको छ ।

भिटामिनको बढ्दो प्रयोग सम्बन्धमा गरिएको अनुसन्धानमा ५० देखि ६० माथिका वृद्धाहरू सहभागी थिए । सहभागी सबै वृद्धाको खाना सन्तुलित तथा पर्याप्त थियो । तर, पनि उनीहरूले भिटामिन लिने गरेका थिए । तिनले मल्टिभिटामिन, भिटामिन बि-६ , म्याग्नेसियम, जिंक, कपर, आइरन लिने गरेका थिए । यी सबै पदार्थले छिटो मृत्युको जोखिम बढाउने अनुसन्धानले देखाएको छ ।

कैयौँ प्रयोगकर्ताले भिटामिनले फाइदा पुर्‍याउने बताउँदै भिटामिनको अनावश्यक प्रयोग गरेको भेटिएको छ । अनुसन्धानअनुसार भिटामिनको बढ्दो प्रयोगले फाइदाभन्दा बढी बेफाइदा पुर्‍याउँछ । अध्ययनमा करिब ३८ हजार अमेरिकी महिलालाई सहभागी गराइएको थियो । अनुसन्धानमा उनीहरूले दुई दशकमा लिएको भिटामिन, मिनिरल आदिको अध्ययन गरिएको थियो ।

अनुसन्धानले भिटामिनको अनावश्यक प्रयोगले बेफाइदा गर्ने देखाएको अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ इस्टर्न फिनल्यान्डका डा. जाको मुर्सु र उनको टोलीले भनेको छ ।

अनुसन्धानअनुसार आइरन चक्कीले २.४ प्रतिशत बढी मृत्युको जोखिम बढाउँछ । आइरन चक्कीको प्रयोगको मात्राअनुसार जोखिम बढ्ने पनि अनुसन्धानमा भनिएको छ । त्यसैले चिकित्सकले भनेको भन्दा बढी कुनै पनि भिटामिन वा चक्की नलिन अनुसन्धान टोलीले आग्रह गरेका छन् ।

क्याल्सियम चक्कीले मृत्युको जोखिम घटाउने देखिए पनि यस सम्बन्धमा थप अनुसन्धान बाँकी रहेकाले चिकित्सकको सल्लाहभन्दा बढी क्याल्सियम नलिन अनुसन्धान टोलीले भनेको छ ।

जति धेरै भिटामिन खायो, त्यति राम्रो भन्ने हाम्रो मान्यता गलत भएको डा. क्रिस्चियन ग्लुड र गोरान बियालोकोभिचले बताएका छन् ।

भिटामिन चक्कीभन्दा सन्तुलित तथा स्वास्थ्यवर्धक खानाबाट शरीरलाई चाहिने सबै तत्व लिनु उत्कृष्ट भएको पनि अनुसन्धान टोलीले भनेको छ ।

No comments:

Post a Comment