Sunday, October 9, 2011

लिटिल मिस वल्र्ड २०११ ले तत्कालै हर्षका आँसु झारिन्

त्यतिबेला तालीको गडगडाहट झन् बढ्यो जब उनी गुन्यूचोलीमा छमछमी नाच्न थालिन् : 'नाचूँ नाचूँ लाग्यो मलाई...' गीतमा । 'बुझ्ने नबुझ्ने सबै नाचे,' लिटिल मिस वल्र्डका लागि टर्की नेपाल आयोजक दीपेन्द्र रत्न शाक्यले सुनाए, 'नेपाली हुनुमा गर्व लाग्यो ।'

साँच्चैको गर्व, किनभने ११ वषर्ीया एक नेपालीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पहिलोपटक सबैभन्दा ठूलो उपाधि दिलाइन् । 'लिटिल मिस वल्र्ड २०११ इज,' टर्कीको झकिझकाउ अन्टाल्यको हलमा शुक्रबार साँझ उद्घोषकले फुके, 'विपश्वी पौडेल फ्रम नेपाल ।' साथमा उनले 'मिस कन्जेनियालिटी' सब टाइटल पनि हात पारिन् । तत्कालै हर्षका आँसु झारिन् । कार्यक्रम स्थलमा रहेका उनका बुबा राजु पौडेल र आमा शशिले काठमाडौं धुम्बाराहीमा परिणामको प्रतीक्षामा रहेकी जेठी छोरी ओजश्वीलाई फोन गरिहाले, 'नानु बहिनीले त जितिन् ।'

'अनि त,' ओजश्वीले शनिबार कान्तिपुरसित भनिन्, 'हजुरममीलाई पनि सुनाएँ, हामी त कत्ति धेरै खुसी भयौं ।' खुसीको आयातन तनक्कै तन्किइहाल्यो, स्कुलमा खबर पुग्यो । 'मलाई त

पहिल्यै लाग्या थियो,' विपश्वी पढ्ने स्कुलकी निर्देशक ललिता प्रसाईंले कान्तिपुरसित भनिन्, 'नभन्दै जितिछन् ।' उनी पनि दङ्गै ।

११ वषीया विपश्वी बालुवाटरको विन्डी हाउस स्कुलमा कक्षा ५ मा पढि्छन् । 'एकदमै ट्यालेन्टेड नानी हो,' प्रसाईंले थपिन्, 'केही न केही जित्छिन् जस्तो लागेको थियो, मुख्य उपाधि नै जितिछन् ।' प्रसाईंका अनुसार विपश्वी स्कुलका अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउँथिन् । कक्षाकी फस्र्ट गर्ल पनि हुन् उनी । 'पहिला पहिला खुब लजालु थिइन्,' उनले भनिन्, 'तर अहिले एकदमै फरवार्ड लाग्छिन् ।' कक्षाका अन्य साथीहरूलाई वरिपरि जम्मा पारेर आफूले जानेको कुरा सिकाउने गर्छिन् विपश्वी ।

लिटिल मिस वल्र्डमा नेपालको यो पहिलो सहभागिता हो । 'पहिलोपल्ट नै यत्ति धेरै सफल भइयो,' नेपाली आयोजक संस्था नेप्लिज सोसाइटीका निर्देशक रोहित शाक्यले भने, 'यो देशकै लागि गर्वको कुरा हो ।' अघिल्लो महिना काठमाडौंमा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै विपश्वीले 'लिटिल मिस वल्र्ड नेपाल' को उपाधिमाथि कब्जा जमाएकी थिइन् । उक्त प्रतियोगिताका लागि सहभागी सबै ३६ बालिकालाई १७ दिन तालिम दिइएको थियो । 'त्यो बेला पनि सबैले विपश्वीले केही पक्कै जित्छ भन्थे,' निर्देशक शाक्यले सुनाए, 'भनेको कुरा ठ्याक्कै बुझ्ने र व्यवहारमा लागू गरिहाल्ने उनको बानी थियो ।'

युरोपियन मुलुक युक्रेनबाट सन् २००० मा सुरु भएको प्रतियोगिताको यो ११ औं संस्करण हो । विपश्वीले फोनमार्फत् ओजश्वीलाई दिएको जानकारी अनुसार प्रतियोगितामा नेपाल सहित ३५ देश सहभागी थिए । विशालनगरकी विपश्वीका बुबा आयल निगममा जागिरे हुन भने आमा गृहिणी । उनकी एक दिदी १० कक्षामा पढ्दै छिन् । अघिल्लो शनिबार आफ्ना बुबा र आमासँगै प्रतिस्पर्धामा भग लिन टर्की पुगेकी विपश्वी आज (आइतबार) साढे ४ बजे नेपाल आउँदै छिन् ।

No comments:

Post a Comment