महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन अब पशु चौपायामा समेत प्रयोग हुन थालेको छ । गर्भान्तरका लागि लगाइने तीनमहिने संगिनी सुईको दुरुपयोग गरी चौपायाको तौल बढाउनसमेत प्रयोग गरिएको हो ।
गर्भान्तरका लागि महिलाले प्रयोग गर्ने संगिनी सुई झापालगायत तराईका जिल्लाका केही किसानले सँुगुर, बंगुर, खसी र बोका मोटो बनाउन प्रयोग गरेका हुन् । यस्तो सुई प्रयोग गरिएका चौपायाको मासु खाँदा मानव स्वास्थ्यमा असर पर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
नेपाल सिआरएस कम्पनीले परिवार नियोजनको अस्थायी साधनका रूपमा १७ वर्षअघि संगिनी सुई भित्र्याएको थियो । झापाका केही किसानले दुई वर्षयता सुँगुर र बंगुरलाई संगिनी सुई दिँदै आएका छन् । मासु लागेर सुँगुर, बंगुर, खसी तथा बोका मोटाएर पोटिलो हुने भन्दै किसानले तीन महिनाको अन्तरमा संगिनी सुईको प्रयोग गरेका हुन् ।
कुनै वेला अस्थायी परिवार नियोजनका लागि नरप्लान्ट प्रयोग गरेकी झापा तोपगाछी-७ की भीममाया सुब्बाले भनिन्, 'मैले संगिनी लाइनँ, तर सुँगुरलाई भने नियमित लगाइरहेकी छु ।' सुई लगाएपछि सुँगुरले भाले नखोज्ने र मोटाउने भएकाले यसको प्रयोग गर्न थालेको उनले बताइन् । उनले घरमा पालेका सुँगुरलाई दुईपटक संगिनी सुई लगाइसकेकी छन् ।
झापा तोपगाछी चोककी रुद्रमाया भट्टराईले पनि सुँगुरलाई भाले नखोज्ने बनाउन तीन-तीन महिनाको फरक पारेर संगिनी सुई लगाएको निकै समय बितिसकेको छ । 'सुई लगाएपछि सुँगुर मोटाउँछ,' उनले भनिन्, 'मासु लागेपछि बेच्दा रामै्र मूल्य आउँछ ।'
सुँगुरले भाले नखोज्ने एउटा उपायका रूपमा संगिनी सुई प्रयोग गरिएको पनि किसानको भनाइ छ । किसानले तीन महिना पुगेकै दिनमा अर्को सुई लगाउने गरेको पनि स्थानीय जाम्तेन लिम्बूले बताए । 'पशु डाक्टर बोलाएर सुई लगाउने गरेको छु,' उनले भने, 'सुई नलगाए सुँगुरलाई खोरमा थेग्न सकिँदैन ।'
खोर भत्काएर सुँगुर भाग्न थालेपछि यहाँका थुप्रै किसानले दोहोरो फाइदा हुने भन्दै सुँगुरलाई संगिनी सुई लगाएको बताए । किसानले मानिसलाई लगाउनकै लागि भनेर संगिनी सुई लैजाने गरेको तोपगाछीस्थित केरखा बजारका फार्मेसी सञ्चालक शंकर कोइरालाले दाबी गरे । 'घरमै लगेर लगाउँछौँ भनेपछि नदिने कुरै भएन,' उनले भने, 'तपाईंसँग सुई लगाउँदा लाज लाग्छ भनेर महिलाले घरै लैजान्छन् ।'
सिआरएस कम्पनी काठमाडौंका एक कर्मचारीले पनि तराईका जिल्लामा पशु चौपायामा संगिनी सुई लगाउने गरिएको जानकारी आएको बताए । नाम नबताउने सर्तमा उनले भने, 'महिलाको गर्भान्तरका लागि प्रयोगमा ल्याइएको संगिनी सुई किसानले पशु चौपायामा प्रयोग गर्न थालेको धेरै भइसकेको छ । तराईमा यस्तो समस्या धेरै छ ।'
ती कर्मचारीका अनुसार किसानले सँुगुरमा मात्र नभई खसी तथा बोका बिक्री गर्नुभन्दा दुई महिनादेखि एक महिनाको अन्तरमा संगिनी सुई लगाउने गरेको बताए । 'सुई लगाएपछि खसी तथा बोका मोटाउने रहेछन्,' उनले भने, 'त्यस्ता सुई लगाएर मोटाएका खसी, बोका, सुँगुर र बंगुर काटेपछि भने मासु थोरै देखिने समस्या हुन्छ ।'
संगिनी सुई जथाभावी बिक्री गर्ने प्रावधान छैन । औषधि पसल तथा संस्थाका तालिमप्राप्त व्यक्तिले संस्थामा नै महिलालाई संगिनी सुई लगाउनुपर्ने नियम छ । तर, व्यापारीले कुनै रेकर्ड नै नराखी माग्नासाथ सुई दिएर पठाउने गरेकाले समस्या देखिएको सिआरएसका ती कर्मचारीले बताए । 'यो व्यापारीको गलत काम हो, पैसाको लोभमा व्यापारीले कुनै रेकर्ड नै नराखी जसलाई पनि संगिनी सुई दिने गर्दा महिलालाई लगाउने सुई पशुसम्म पुगेको हो,' उनले भने, 'तराईका जिल्लामा संगिनीजस्ता अन्य थुप्रै औषधि झोले व्यापारीले बिक्री गर्ने हुँदा पनि समस्या बढेको छ ।' उनका अनुसार सिआरएस कम्पनीले यस विषयमा अनुसन्धान गरिरहेको र दोषी देखिएका व्यापारीलाई कारबाही गर्ने तयारी गरेको छ ।
'सुई लगाएका पशुको मासु अहितकार'
संगिनी सुई लगाएर मोटो पारिएका सुँगुर, बंगुर, खसी र बोकाको मासु मानव स्वास्थ्यका लागि हितकर नहुने चिकित्सकले बताएका छन् । पशुमा संगिनी सुईको प्रयोगले मानव स्वास्थ्यमा समस्या निम्त्याउन सक्ने पशु स्वास्थ्य प्राविधिक प्रेम सापकोटाले जानकारी दिए ।
पशु स्वास्थ्यसँगै मानव स्वास्थ्य पनि जोडिएकाले आफूहरूले सुँगुर, बंगुर र खसी बोकालाई संगिनी सुई प्रयोग नगर्न सम्झाए पनि किसानले नटेरेको सापकोटाले बताए । 'व्यावसायिक मर्यादाविपरीत सँुगुर, बंगुर, खसी, बोकामा सुई प्रयोग भइरहेको छ,' उनले भने, 'संगिनी सुई लगाएपछि मासु लाग्छ भन्नेमा किसान आफैँ विज्ञ भए । यसलाई रोक्न सकिएन ।'
सापकोटाले पशुमा सुईको प्रयोग तत्काल रोक्नुपर्नेसमेत बताए । 'प्रजनन प्रणालीसँग सम्बन्धित औषधिको प्रयोग भएको मासु पकाएर खाँदा मानव स्वास्थ्यमा असर गर्छ,' उनले भने, 'त्यसैले मानव स्वास्थ्यमा असर पर्ने यस्ता गतिविधि तत्काल रोक्नु आवश्यक छ ।'

No comments:
Post a Comment