बाटोमा हिडिरहेकी किशोरीहरुको झोलामा कण्डम, त्यतिमात्र कहा हो र त्यस्लाई सही ढंगले प्रयोग गर्ने तरिका पनि सिकाउने, कलियुग लागेकै रै'छ । पहिलो पटक देख्नेले उनीहरुलाई नकारात्मक रुपले अनुहार विगार्दै यस्तै सोच्ने गरेका छन् ।
झन् यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित यौन सम्पर्क र एचआईभी एड्सका बारेमा खुलस्तरुपमा धारा प्रवाह बोलेको सुनेमा जो कोहीले 'खत्तमै' रै'छन् भनेर भन्न पनि पछि पर्दैनन् । तर उनीहरु कुनै गलत मार्गमा लागेका किशोरीहरु भने होइनन् । उनीहरु किशोर किशोरीमा देखिएको समसामयिक समस्या बारे प्रशिक्षित साथी शिक्षिका हुन् । अर्थात विद्यालय छाडेका किशोर किशोरीहरुलाई जोखिमपूर्ण व्यवहारमा लाग्नबाट बचाउने असल स्वयम् सेविका हुन् । तर कतिपयले उनीहरुलाई गलत सोची दिने गर्छन् । उनीहरुलाई आफ्नो विवेकले काम गर्न पनि दिदैनन् । कण्डम, यौन, लागुपदार्थ, एचआईभी एड्सको विषयमा खुलस्त कुरा गर्दा किशोर किशोरीले पनि यस्तो कुरा गर्ने हो र ? भनेर तर्किने गर्छन् ।
धरान-११ दुर्गाचौक बस्ने साथी शिक्षिका रेजु श्रेष्ठ भन्छिन्, 'हाम्रो उदेश्य विद्यालय छाडेका कोही पनि किशोर किशोरी जोखिमपूर्ण व्यवहारमा नफसुन् भन्ने हो । एउटा किशोरीको बानी र समस्या अर्को किशोरीलाई सामान्यतया थाहा हुन्छ । त्यसैले हामी उनीहरुको समस्यालाई बुझेर सही सल्लाह दिने गर्छौं ।' उनका अनुसार त्यस्ता किशोर किशोरीहरुलाई साथी बनाएर जीवन उपयोगी शीप, दैनिक जीवनमा आइपर्ने समस्या र समाधान, आत्म जागरण, सकारात्मक र सृजनात्मक सोचका बारेमा मनोसामाजिक मनोविमर्श विधिमा परामर्श दिने गरेका छन् । विभिन्न कारणले गाउँ, टोल र शहरका धेरै किशोर किशोरीहरु विद्यालय छाड्ने गरेका छन् । त्यस्ता किशोर किशोरीहरु कुलतमा र गलत बाटोमा लाग्न सक्ने सम्भावना धेरै हुन्छ । धरान-१० धर्मपथ बस्ने अर्की साथी शिक्षिका माङ्सेमी लिम्बू भन्छिन्, 'समाज र परिवारमा विद्यालय छाडेका कैयौ किशोर किशोरीहरु सही सल्लाह नपाएर जोखिमपूर्ण व्यवहारको सिकार बनेका छन् । कुनै माध्यमबाट उनीहरुलाई पत्ता लगाएर भेटघाट गछौर्ं र उनीहरुको समस्या बुझेर सल्लाह दिन्छौं ।' विद्यालय छाडेका किशोर किशोरीहरुलाई जहां भेटे पनि उनीहरु परामर्श दिन तयार हुने गरेका छन् । धरानमा यस्ता साथी शिक्षिका र शिक्षकहरु १४ जना रहेका छन् । उनीहरुले दुइवर्षको अवधिमा पाँचसय जना किशोर किशोरीहरुलाई साथी बनाएका छन् । आफ्ना साथीको मनको कुरा -समस्या) समाधान गर्न किरात याक्थुङ पुनर्जीवन केन्द्रद्धारा सञ्चालित युवा मैत्री सेवा केन्द्रमा बोलाउने गरेका छन् । एक बर्ष देखि साथी शिक्षिका भएर आफूजस्तै किशोर किशोरीलाई परामर्श दिदै आएकी धरान-१६ अन्नपूर्णलाइनकी लक्ष्मी दर्नाल भन्छिन्, 'आफूले सिकेको र जानेको कुरा साथीलाई भनेर वा बुझाएर सचेत गराउनु एउटा साथीको कर्तव्य हो ।
यौन, एचआईभी एड्स र लागुपदार्थ बारे सबैले उतिकै बुझेका हुदैनन । र, विद्यालय छाडेका किशोर किशोरीहरु यिनै तीन कुरामा चाडो फस्ने गरेका हुनाले हामी उनीहरुलाई साथी बनाएर जोखिम बाट बचाउने प्रयास गर्छौं ।' उनीहरु क्याविन रेष्टुरा, होटल र लज, चिया पसल, सडक बालवालिका, घरेलु कामदार लागुपदार्थका दुव्र्यसनी, रिक्सा चालक, यातायात जस्ता क्षेत्रमा कार्यरत किशोर किशोरीहरुलाई साथी बनाएर विभिन्न जोखिमपूर्ण व्यबहारबाट बचाउन विना तलव दैनिक स्वयम्सेवी भएर टोल टोलमा घुम्ने गरेको धरान-७ शान्तिपथकी किशोरी साथी शिक्षिकाद्धय अन्जना मगर र विमला मगरले बताए ।
युवा मैत्री सेवा केन्द्रका प्रमुख अरुण तिगेलाका अनुसार विद्यालय छाडेका किशोर किशोरीहरु निम्न आर्थिक अवस्था भएका परिवारबाट सबै भन्दा धेरै छन् । त्यस्ता किशोर किशोरीलाई उनीहरुकै समकालीन साथीले सही सल्लाह दिने कार्य प्रभावकारी भएको छ । कतिपयलाई विद्यालयमा पढ्न जाने वातावरण बनाइदिएको छ ।

No comments:
Post a Comment