युवामा बुवाआमाले सट्टा आफैंले रोजेको विवाह गर्ने चलन बढेको छ । आफैंले रोजेर विवाह गर्ने युवाहरूको प्रतिशत ५३ पुगेको सरकारी तथ्यांक छ । यस्तै ३८ प्रतिशत युवतीहरू आफैंले रोजेर विवाह गर्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको सर्वेक्षणले केटा र केटीको पहिलो प्रेमको औसत उमेर १६ वर्ष देखाएको छ । यस्तै प्रेम सम्बन्धको औसत समयावधि १४ महिनासमेत देखाएको छ । सर्वेक्षणअनुसार चारमध्ये तीन जनाले आपmनै प्रेमी/प्रेमिकासँग विवाह गर्ने इच्छा राख्छन् ।
मन्त्रालयद्वारा गरिएको नेपाल किशोर, किशोरी तथा युवा केन्दि्रत भई सर्वेक्षण गरेको हो । '१० देखि २४ वर्ष उमेर समूहमा गरिएको यो बृहत् एवं पहिलो सर्वेक्षण हो,' स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले भने, 'यो यस्तो बहुआयामिक सर्वेक्षण हो जसले युवाको हरेक समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ ।'
मुलुकको कुल जनसंख्याको ३३ प्रतिशत भाग १० देखि २४ वर्ष उमेर समूहले ओगटने गरेको छ । 'सर्वेक्षणअनुसार युवामा पहिलो यौनसम्पर्कको औसत उमेर साढे १७ वर्ष छ,' मन्त्रालयका जनसंख्या महाशाखा प्रमुख पदमराज भट्टका अनुसार '१५ वर्षभन्दा कम उमेरमा करिब ६ प्रतिशत केटाहरूले मात्र पहिलो यौनसम्पर्क राख्ने गरेको देखिएको छ ।' यस्तै साथीहरूबीच पहिलो यौनसम्पर्कको औसत उमेर २० वर्ष देखिएको छ ।
मन्त्रालयका अनुसार सन् २०१० को डिसेम्बरसम्म गरी चार महिनामा मुलुकको ९ हजार घर परिवारमा यो सर्वेक्षण तथ्यांक संकलन गरिएको हो । भट्ट भन्छन्, 'यसअन्तर्गत १० देखि २४ वर्ष उमेर समूहका १४ हजार ७ सय ७५ जनासँग प्रत्यक्ष भेटेर प्रश्नावली संकलन गरिएको थियो ।'
केटाहरूमा कम उमेरमा बिहे गर्ने प्रचलनमा उल्लेख्य कमी आएको छ । यसअन्तर्गत १० देखि २४ वर्ष उमेर समूहको २३ प्रतिशत केटी र ८ प्रतिशत केटाले विवाह गर्छन् । विवाहको औसत उमेर केटाहरूको १९ र केटीहरूको १७ वर्ष छ ।

No comments:
Post a Comment