Saturday, January 7, 2012

जिन्स पेन्ट माथि टिसर्ट अनि साडी झैं देखाउन सलको बर्को ......................

परम्परागत भजन र मिक्स मोडर्न म्युजिकको फ्युजन धुन बज्नेबित्तिकै हलको दुईतिर लस्करै बसिरहेका सुन्दरीहरू सतर्क भए । तीमध्ये दायाँछेउकी एक युवती म्युजिकको ताल पछ्याउँदै जुरुक्क उठिन् र सललाई साडीको फेर बनाएर क्याटवाक गर्न थालिन् । जिन्स पेन्ट माथि टिसर्ट अनि साडी झैं देखाउन सलको बर्को । आफैंलाई फ्युजन दृश्यमा उतार्दै क्याटवाक गरिरहेकी उनलाई अरू २९ सुन्दरीले क्रमैसँग पछ्याए । नक्सालस्थित होटल क्राउन प्लाजामा मिस टिन नेपालको क्लोज क्याम्प भइरहेको छ र कोरियोग्राफर अश्विनी झा साडी लगाएर कसरी हिँड्नुपर्छ भन्ने कोर्स सिकाइरहेका छन् ।
क्याटवाक गर्दै पल्लो कुनाबाट वल्लो कुनामा आइपुग्दा एउटीले सल भुइँमा खसाइन् । 'ला....,' सल टिप्दै गर्दा उनको अनुहार रातो बन्यो र यताउति साथीहरूको अनुहार नियाल्दै झटपट म्युजिक पछ्याउन थालिहालिन् । अर्कीको हात ड्यासमा हल्का ठोकियो र सल फेरि भुइँमा झर्‍यो । 'अबका पुस्तालाई साडी लगाउने कल्चर सिकाउन पनि गार्‍हो छ,' छेवैमा बसिरहेका मिसटिन आयोजक मुभि हाउसका सन्तोष सापकोटाले खुसुक्क भने, 'साडी लगाउनु पनि एउटा संस्कृति र कला हो ।'
म्युजिक रोकियो र सुन्दरीहरू केहीबेर टहलिन चाहे । तस्बिरका लागि यही मौका छोप्न खोजे सहकर्मी बेनुप भट्टराईले । देशभरबाट जम्मा भएका सुन्दरीहरू चाहिँ मिस टिनसँग जोडिएका सपना सुनाउन तम्सिरहेका छन् । दुई वर्षअघि राजधानी सहर छिर्नुअघि बाजुरा ओटिलाकी शैलेश्वरी मल्लले सुन्दरी प्रतियोगितासँग जोडिएका अनेक कुरा सुनेकी थिइन् । त्यतिबेला उनलाई पनि लागेको थियो, 'बेकारको ग्ल्यामर किन ?,' अब उनी बदलिएकी छन् । सहर पसेपछि उनले गाउँलाई हेरिन् । स्कुल नभएका पहाडी बस्ती । बाल्यकालमा भैंसी चराउँदै ऐंसेलु टिपिरहेका दृश्य । 'पश्चिमका दुर्गम गाउँमा केटाकेटीका शिक्षाका लागि केही गर्न चाहन्छु' क्राउन प्लाजा परिसरमा कुराकानी भइरहँदा १८ वर्षीया सुन्दरीले सुनाइन्, 'र, यसका लागि मिस टिन प्रतियोगिता मेरा लागि गुड प्लेटफार्म हो ।'  
पिके क्याम्पसमा बीबीएस पहिलो वर्ष पढदै गरेकी उनी स्वयं पनि स्कुल पढाइका लागि दैनिक दुई घन्टा हिँडथन् । मिस टिनको उपाधि हासिल भयो भने भावी योजनाअन्तर्गत उनी सबैभन्दा पहिले आफ्नो दुर्गम गाउँ पुग्नेछिन् शिक्षाप्रति चेतना जगाउन । 'खाद्य अभाव पश्चिमको अर्को समस्या हो,' उनले भनिन्, 'त्यसप्रति पनि एउटा जागरणमूलक अभियान चलाउनु छ ।'
उनीसँगै बसिरहेकी छन् बनेपाकी कविता श्रेष्ठ, पोखराकी भावना गुरुङ, झापाकी अनु पाठक, सिन्धुपाल्चोककी अन्जु वाइवा, जनकपुरकी राधा लामा, नुवाकोटकी सोनी अधिकारी र धरानकी पि्रयंका श्रेष्ठ । कुराकानी क्रममै घान्द्रुककी सुनिता गुरुङ, हेटौंडाकी सुजिता मानन्धर, काठमाडौंकी सन्ध्या श्रेष्ठ, सप्तरीकी दिव्याप्रभा झा, स्वयम्भूकी पि्रयंका खकुरेल र गाईघाटकी सुषमा मगर पनि थपिइन् । सबै सुन्दरीको अनेक सपना छन्, नर्स, डाक्टर, एयर होस्टेज, अधिवक्ता, मिडियाकर्मी यस्तै-यस्तै । त्यसो भए मिस टिनमा किन तँछाड मछाड ?
'अधिवक्ता बन्न नीडर भएर बोल्न सक्नुपर्छ नि' घान्द्रुककी सुनिता बोलिन्, 'पहिले कम बोल्थेँ, लजाउँथँे, अहिले आत्मबल बढेको छ ।'
'मचाहिँ धेरै बोल्थेँ' नख्खिपोट बस्दै आएकी पि्रयंका अघि सरिन्, 'अहिले ठिक्क बोल्छु । आफ्नो पर्सनालिटीको ख्याल गनर्ु पर्नेरैछ ।'
'जुनसुकै क्षेत्रमा करिअर बनाउन पनि' अनु बोलिन्, 'आत्मविश्वास त चाहियो नि ।'
'हो हो' सबैले एकैपटक बोले, 'पब्लिकसँग इन्ट्रयाक्सन गर्ने क्षमता पनि बढ्दैछ ।'
यीमध्ये केही गम्भीर भइन् सप्तरीकी दिव्यप्रभा । तराई समाजमा हुर्की बढेकी उनले राजधानी छिर्नुअघिको गाउँ सम्झिन, अधिकांश जोवन घुम्टोभित्र लुकेर बिताउनुपर्ने ग्रामीण महिलाहरू । 'मेरो समाजमा म नमुना बन्न चाहन्छु,' १८ वर्षीया दिव्य बोलिन्, 'मुख्य कुरा पुरानो मानसिकतामा परिवर्तन ल्याउनु छ ।' मिस टिनको ताज हात लागि हाल्यो भने उनी पनि शैलेश्वरी झैं तराईका भित्री बस्ती पस्ने योजना सुनाइन्, नारीलाई हेर्ने परम्परागत दृष्टि बदल्न ।
झन्डै दुई हप्ताको क्लोज क्याम्प्ामा 'आत्मविश्वास र क्षमता अभिवृद्धि,' 'व्यक्तित्व विकास,' 'आइटी शिक्षा,' 'फुड एन्ड वेवरेज,' 'सौन्दर्य र स्वास्थ्य,' 'पब्लिक इन्टर्‍याक्सन' लगायतका विषयमा विज्ञहरूबाट खारिएका आत्मविश्वासी सुन्दरीहरूका बीच दिव्यप्रभा पनि उत्तिकै आँटिली र उज्याली भएकी थिइन्, जुन यसअघि थिएन । 'आँट बढेको छ' उनले सुनाइन्, 'तराईका महिलाहरूको स्थिति साँच्चिकै दयनीय छ । म केही फरक गर्न चाहन्छु, ताकि बलियो सन्देशको सिर्जना होस् ।'
एकै शब्दमा मिस टिनको अनुभव ?
'रमाइलो' सुन्दरीहरूले एक-अर्काको अनुहार हेराहेर गर्दै एकै स्वरमा भने ।
हाम्रो देशमा के भइरहेको छ था' छ त ?
'एकदमै गन्जागोल भइरहेको छ' पि्रयंकाले अनपेक्षित जवाफ दिइन्, 'संविधान नै नबन्लाजस्तो छ ।'  
'भाषणलाई व्यवहारमा उतानर्ु पर्‍यो' अनुले भनिन्, 'अनि देश बनिहाल्छ नि ।'
केही दिनमै बुबा-आमासँग अमेरिका उड्ने योजना बुनिरहेकी सुनिता गुरुङले 'राजनीतिमा नयाँ पुस्ता आउनुपर्ने' औंल्याइन् ।
(उनको उमेर र चञ्चलेपनको तुलनामा सम्भवतः यो केही गह्रुँगो अभिव्यक्ति थियो।) 'म अमेरिकामै बस्ने ठानेकी छु ?' उनले अरू सुन्दरीहरूलाई भनिन्, 'पढाइ सकाएपछि यतै फर्किन्छु र राजनीतिमा लाग्छु ।' उनलाई 'सर्पोट' गर्नेमा अनु, दिव्यप्रभा, राधा, शैलेश्वरी देखिइन्, जो भविष्यमा कुनै न कुनै
हिसाबले राजनीतिसँग जोडिन चाहन्छन् ।'
'मैले त मेरो कम्युनिटीको मनोविज्ञान बदल्न' दिव्यप्रभा बोलिन्, 'झन् राजनीति गर्नैपर्छ ।'
त्यतिन्जेल यी सुन्दरीहरूले धेरै काम पूरा गर्नु छ । पढाइ, करिअर अनि सोसियल पर्सनालिटी । तत्कालको कार्यसूचीमा चाहिँ आउँदो शनिबार मिस टिनको ट्यालेन्ट शो र २५ गते अन्तिम प्रतिस्पर्धाका लागि तयार
हुनुपर्नेछ । झन्डै एक घन्टे कुराकानीपछि सुन्दरीहरू फेरि रिहर्सल हलतिर लागे, भित्र उही फ्युजन म्युजिक । सललाई साडीको नक्कलमा उतारेर 'साडी संस्कृति' उजिल्याउन उनीहरू फेरि स्टेज उक्ले ।    

No comments:

Post a Comment